प्रस, परवानीपुर, २९ पुस/
नेपालकै पुरानो सरकारी क्याम्पसको रूपमा चिनिने ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजमा सूचना प्रविधिसम्बन्धी पढाइ अर्थात बिआइटी कोर्स अध्ययन हुने भएको छ ।
ठाकुर राम बहुमुखी क्याम्पस प्रशासनले बिहीवार क्याम्पसको सभाहलमा पत्रकार सम्मेलन गरी कोर्स पढाइ गर्ने जानकारी गराएको छ । क्याम्पस प्रमुख डा उमेश चौरसियाका अनुसार माघ ३ गतेदेखि अनलाइन फाराम, अनलाइन भर्ना र त्यसपछि प्रवेश परीक्षामा पास भएका विद्यार्थीहरूलाई स्नातक तहसरह चार वर्षे बिआइटी कोर्स पढ्न पाउने छन् ।
प्रत्येक वर्ष ३६ जना विद्यार्थीको लागि कोटा पाएको र वीरगंजसँगै जनकपुर, पद्मकन्या क्याम्पस गरी तीन ठाउँमा त्रिभुवन विश्वविद्यालयले बिआइटी कोर्स दिएको उनले बताए । शुल्कको विषयमा अहिले निर्धारण नभएको जानकारी गराउँदै वीरगंजमा ठाराब क्याम्पसले यो कोर्स पाएपछि प्राध्यापकहरू खुशी भएका छन् ।
कम खर्चमा वीरगंज आसपासका विद्यार्थीले आधुनिक प्रविधिसम्बन्धी शिक्षा आर्जन गर्ने कोर्स पढ्न पाउने सुविधा थपिनु खुशीको कुरा भएको पूर्व सहायक क्याम्पस चिफ रोशन लामिछानेले बताए ।
पत्रकार सम्मेलनमा ठाराब क्याम्पसका सहायक क्याम्पस चिफ अनिल रमण, लेक्चरर हरेराम ठाकुर, प्रमोद कुशवाहालगायत अध्यापक तथा कर्मचारीहरूको सहभागिता थियो । गणित र अङ्ग्रेजी सय/सय पूर्णाङ्क लिई+२ शिक्षा वा ओभरसियर पढेकाहरूले यो कोर्समा भर्ना हुन पाउने छन् ।