प्रस, वीरगंज, २९ पुस/
वीरगंज महानगर–३ प्रगतिनगरमा रहेको पुरानो जनजाति स्कूल तथा हालको महानगरपालिका आधारभूत विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
मङ्गलवार राति ११ बजे विद्यालय बन्द भएको मौका छोपी अज्ञात समूहले प्रअको कक्षमा आगजनी गरेको वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक राजेश पुरीले बताए । उनले बिहीवार विद्यालय व्यवस्थापन समितिको बैठक बस्ने क्रममा प्रअ, शिक्षकहरू विद्यालय गएको र आगलागीबारे थाहा पाएपछि प्रहरीमा खबर गरेको बताए ।
उनले आगलागीबाट सामान्य क्षति भएको र खासगरी विद्यालयका कागजातहरू जलाइएको पाएको बताए । विद्यालयका प्रअ रामाधारप्रसाद साहले विद्यालय व्यवस्थापन समितिको बैठकको क्रममा पियन सरसफाइ गर्दा आगलागीको गन्ध पाएको र निजले खबर गरेको बताए ।
उनले कम्प्युटर चोरी भएको र सिसिटिभी क्यामरा, मोनिटर, प्रिन्टर तोडफोड तथा कागजपत्र मात्र जलाइएकोले पूर्वप्रअमाथि आशङ्का व्यक्त गरे । प्रअ साहले आफूलाई अहिलेसम्म यस अघिका प्रअले बुझबुझारथ नगरेको र अहिले कागजपत्र जलाइएको, कम्प्युटर चोरी भएको कारण आवश्यक कागजातहरू नष्ट गर्ने प्रयास भएको भन्दै पूर्वप्रअमाथि शङ्का जाहेर गरे । प्रनि पुरीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।