प्रस, वीरगंज, २८ पुस/
नेकपा एमाले पर्साको आठौं जिल्ला अधिवेशनको बन्द सत्रमा कुटाकुट भएपछि कार्यक्रम स्थगित गरिएको छ ।
हिजो बेलुकी ११ बजेदेखि शुरू भएको बन्द सत्रमा राति १ बजेदेखि तनाव बढेको थियो । जिल्ला अध्यक्षका लागि थुप्रैजना आकाङ्क्षी देखिएपछि केन्द्रीय नेतृत्व र स्थानीय नेताहरू बसेर सहमतिका लागि छलफल गर्दा कुरा मिल्न सकेको थिएन । अध्यक्ष पदबाट केही उम्मेदवारले नाम फिर्ता लिए पनि अधिकांश आकाङ्क्षीहरू निर्वाचन हुनुपर्ने र त्यसैबाट नेतृत्व चयन हुनुपर्ने कुरामा अडेका थिए ।
यसै कारण सर्वसम्मतिको प्रयास अबेर रातिसम्म सफल हुन सकेको थिएन । एक पक्ष सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने र अर्काे पक्ष निर्वाचन गराउनैपर्ने कुरामा अडेपछि बिहान पौने पाँच बजेतिर बन्द सत्रमैं कुटाकुट भएको थियो । कुटाकुटको क्रम भित्र रोकिएको थिएन भने बाहिरिएकाहरूबीच र बाहिरै घमासान भएपछि प्रहरीले हस्तक्षेप गरेको प्रत्यक्षदर्शीले बताए ।
बन्द सत्र कुटाकुटमा परिणत भएपछि जिल्ला सचिव तथा अध्यक्षका दाबेदार मनोज गुप्ताले अधिवेशन स्थगित भएको सूचना दिएका थिए । सचिवको घोषणापछि बन्द सत्रबाट नेता कार्यकर्ताहरू बाहिरएका थिए । तर आक्रोशित कार्यकर्ताहरूले सभाहलको कुर्सी र बाहिरका फूलका गमला तोडफोड गरी आक्रोश पोखेका थिए ।
बिहानको यो दृश्यपछि नेकपा एमाले प्रदेश कमिटीका इन्चार्ज केन्द्रीय सचिव रघुवीर महासेठ, एमालेका महासचिव शङ्कर पोखरेल, पर्सा इन्चार्ज तथा हालका अध्यक्ष प्रभु हजरा, केन्द्रीय सदस्यहरू राजकुमार गुप्ता, निर्मला देवकोटा, अरविन्द सिंहलगायत नेताहरू होटल भिस्वामा बिहानैदेखि बैठक बसेका थिए । बैठकबाट पनि निकास ननिस्केपछि पर्सा इन्चार्ज प्रभु हजराले आठौं अधिवेशनको बन्द सत्र स्थगनको सूचना दिउँसो प्रकाशित गरेका छन् । उनले जारी गरेको सूचनामा बन्द सत्रका अन्य कार्यक्रम अर्काे सूचनाबाट जानकारी गराइने उल्लेख छ ।