ओमप्रकाश चौधरी, सेढवा, २८ पुस/

जीराभवानी गाउँपालिका–५ हरैया र सखुवनियाका अति विपन्न पचास घरपरिवारको दैनिकी गुजारा जङ्गलको खरले धानेको छ । जङ्गल सीमासँग टाँसिएको यो बस्तीमा मुसहर, चमार र थारू समुदायका पचास परिवारको बसोवास छ ।

यो परिवारको अहिलेसम्मको दैनिक गुजारा नजीकको जङ्गलबाट खर काटेर हुने गरेको छ । जङ्गलबाट खर काट्ने, बिक्री गर्ने र परिवारको पालनपोषण गर्ने काम भइरहेको जीराभवानी गापा–५ हरैयाकी आसदेवीले बताइन् । उनले दैनिक ६–७ बोझा खर काटेर ल्याउने, सुकाउने र प्रतिबोझा रु ६० मा बिक्री गर्ने गरेको बताइन् ।

चिसो बढेकोले जङ्गल क्षेत्रमा लगाइएको नर्सरीबाट खर काटेर ल्याउने गरेको उनले बताइन् । आफूले बनाएको खरको बोझा दक्षिणी क्षेत्रका मानिसले खरीद गर्ने गरेको उनले बताइन् । हरैयाकै भोजराज रामले खरको भरमा पचास परिवारको गुजारा अहिलेसम्म हुँदै आएको बताए । अहिले जाडोको बेला अन्य मजदूरीको काम पनि नपाउने भएकोले परिवारका सदस्यहरू मिलेर खर काट्ने, बोझा बनाउने र बिक्री गर्ने गरेको उनले बताए । उनले नर्सरीबाट खर कटान गरेपनि अन्य बिरुवालाई भने हानि–नोक्सानी नहोस् भनी सचेत हुने गरेको बताए । रामले यो मौसममा खरकै भरमा परिवारको गुजारा भइरहेको बताए ।

सब डिभिजन वन कार्यालय वसन्तपुरका प्रमुख सुमन पाण्डेले नर्सरीमा खर कटानको कामले बिरुवाहरूलाई फाइदा पुगेको बताए । उनले नर्सरीका बिरुवा हुर्कनका लागि खर बाधक बनेको र खर काटेपछि बिरुवाहरू हुर्कन सजिलो भएको प्रतिक्रिया दिए । खरको कारण बिरुवाहरूको वृद्धि विकासमा बाधा पुग्दै आएको उनले बताए । प्रमुख पाण्डेले अनावश्यक खर काटेर विपन्न परिवारको गुजारा भइरहेको र नर्सरीलाई पनि फाइदा पुगेको बताए ।

उनले यसरी नर्सरीमा हुर्के–बढेको खरले बिरुवाहरूको वृद्धि विकासमा बाधक हुनुका साथै गर्मीयाममा खरमा आगो लाग्दा वा वन डढेलोको क्रममा नर्सरीमा ठूलो हानि–नोक्सानी पुग्दै आएको बताए । उनले नर्सरीबाट खर कटान गर्दा बिरुवाहरूमा क्षति नपुगोस् भनेर वनकर्मीहरूबाट निगरानी गराउने गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here