प्रस, वीरगंज, २८ पुस/
नेकपा एमाले बाराको १० औं जिल्ला अधिवेशन बुधवारदेखि कलैया उपमहानरपालिकामा शुरू भएको छ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जानकी हलमा जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले एमाले सरकारको लोकप्रियता सहन नसकेर संयुक्त गठबन्धनको अपवित्र सरकार बनेको र दुईतिहाई सरकार हट्नुपरेको बताए । एमाले सरकारले मधेसमा सडक सञ्जाल विस्तारका साथै विकासको लहर ल्याएको उनले दाबी गरे । भारतले मिचेको नेपाली भूमि आफ्नो पक्षमा ल्याउने निर्णय गरेको एमाले देशको सच्चा राष्ट्रवादी पार्टी भएको महासचिव पोखरेलले बताए ।
देवनारायण चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा केन्द्रीय सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, पोलिटब्युरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, ज्वाला साह, अच्युत पौडेल, प्रदेश इन्चार्ज रामअवतार यादव, उपसचिव आरती भण्डारीलगायतले अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । उद्घाटन सत्र सकिएसँगै बलवीर चौधरीको अध्यक्षतामा सात सदस्यीय अध्यक्ष मण्डल बनेको र बन्द सत्र शुरू भएको एमाले बाराका प्रचार विभाग प्रमुख मनोज पौडेलले बताए । उनले बन्द सत्रमा करीब साढे आठ सय प्रतिनिधि सहभागी भएको बताए ।
बारामा पनि विवाद, झडप
उद्घाटन सत्र अघि परसौनी गापाबाट प्रतिनिधि छनोटको विषयलाई लिएर कलैयामा पनि विवाद भएको थियो । उद्घाटन अघि कार्यक्रम स्थल जानकी हलमा सोही विषयमा झडप पनि भयो । पछि परसौनीको विवाद साम्य पारेर उद्घाटन भएको प्रचार विभाग प्रमुख पौडेलले बताए । उनले दुईथरीबाट प्रतिनिधि बनेर आएकाले विवाद भएको र दुवैतर्फबाट आधाआधा प्रतिनिधित्व गराएर विवाद साम्य पारिएको बताए ।