- सञ्जय साह मित्र
आँखामा अनन्त देखिने समुद्रमा तरङ्ग आइरहन्छ । त्यस तरङ्गलाई सर्वसाधारणले लहर भन्ने गरेका छन् । अहिले धरतीमा नै लहर आइरहेको छ । एकपछि अर्को लहर आइरहेको छ । समुद्रमा लहरको आफ्नो गति हुन्छ र सीमा हुन्छ । किनारभन्दा धेरै माथि प्रायः पुग्दैन । यदि सुनामी आएको हुन्छ भने समुद्रले आफ्नो सीमा नाघ्दछ । समुद्रले सीमा नाघ्नु भनेको सामान्यावस्थाको उफारभन्दा धेरै बढी हुनु हो र धरतीमा पनि आइपुग्नु हो । कहिलेकाहीं ठूलो बाढीको रूपमा समुद्र नै धरतीतर्फ बग्न थाल्छ ।
यसलाई विपत्तिको रूपमा मानिन्छ । यस प्रकारको विपत्ति समय–समयमा आइरहन्छ सानो वा ठूलो । तर धरतीमा जब नदीहरूमा ठूलो बाढी आउँछ र नदीको पानी सीमा नाघेर बस्तीमा पानी पुग्छ र विनाशको रूप धारण गर्दछ, जब मानिसले आफ्नो बस्तीको चारैतिर पानी नै पानी देख्छ र पानीबाट मानिसको जीउ र धनको खतरा देख्दछ तब त्यसलाई खतराको सङ्केत मान्दछ जसलाई कतिपयले समुद्रसित तुलना गर्दछन् । वास्तवमा जतिसुकै ठूलो बाढी किन नहोस्, त्यसको तुलना समुद्रसित कदापि गर्न सकिन्न । अन्ततः सबै बाढी जाने त समुद्रमा नै हो, सबै पानी अटाउने समुद्रमा नै हो ।
सन् २०१९ को अन्तिममा मानव शरीरमा फेला परेको एउटा भाइरसले अहिलेसम्म विश्वलाई थर्काइरहेको छ । हुनत विश्वमा समय–समयमा अनेक महामारी आएको देखिन्छ । महामारीको समयमा विश्वको धेरै कुनामा जनधनको क्षति हुने गरेको इतिहास छ । केही रोग र महामारी त लामो समयसम्म पनि टिकेको देखिन्छ । हाम्रो समाजमा करीब सय वर्ष पहिले कतैकतै हैजा फैलिन्थ्यो र हैजाको महामारीले धेरै मानिस मर्दथे ।
हैजाको नियन्त्रण धेरै कारणले सम्भव हुन सकेको हो र जब हैजा नियन्त्रण भइसकेको छ तब पनि यदि कतै कुनै ठाउँमा हैजाको महामारी फैलिन्छ भने उक्त ठाउFमा निकै त्रासमय वातावरण हुन्छ । जुन महामारीको विषयमा अहिलेको समाज जागरूक भइसकेको छ र जसको औषधि तथा रोकथामको तरीका थाहा भइसकेको छ, त्यसबाट पनि सर्वसाधारण त्रसित हुने अवस्था रहन्छ भने अहिले फैलिएको कोरोना महामारीबाट सर्वसाधारणमा त्रासको मनोविज्ञान उत्पन्न हुनु नितान्त स्वाभाविक हो । यसबाट धेरै डराउनुपर्ने अवस्था नभए पनि सतर्क भने रहनैपर्छ ।
कोरोनाको पहिलो लहर अर्थात् उफार आउँदाको अवस्था र अहिलेको अवस्थामा धेरै किसिमले मानिसमा सम्पन्नता आएको छ । आर्थिक दृष्टिकोणले त धेरै क्षेत्र कमजोर नै भएको छ तर कोरोनाको पहिलो उफार आउँदा खोपको आविष्कार नै भएको थिएन । दोस्रो लहरमा त खोप आउन थालेको थियो । तेस्रो लहर आउने समयमा धेरै नेपालीले खोप लगाइसकेका छन् । कतिपयले दोस्रो डोज पनि लगाइसकेका छन् । यसलाई राम्रै मान्नुपर्दछ । अहिले पनि खोप चलिरहेको छ ।
धेरैले खोप लगाउन पाउनुलाई सुखद मान्नुपर्दछ किनभने अहिलेसम्म जे विश्लेषण गरिएको छ, त्यसको मूल के हो भने खोप लिइसकेका मानिसमा कोरोना लागे पनि बाँच्ने सम्भावना धेरै हुन्छ, अर्थात् मानिसको मृत्युको सम्भावना निकै कम हुन्छ । खोप लगाइसकेकाहरूलाई कोरोना भाइरस सङ्क्रमण भए पनि उसको स्वास्थ्यमा गम्भीर असर पु¥याउन सक्दैन । अहिलेसम्म यही सुनिएको छ र पढिएको छ, तर यसको अर्थ यो कदापि होइन कि जसले खोप लगाइसक्यो, उसलाई कोरोना सर्दैन । जसले खोप लगाइसकेको छ, ऊ पनि उत्तिकै सतर्क रहन आवश्यक छ । सतर्क रहनुपर्ने धेरै कारणहरू छन् ।
कोरोनाको पहिलो लहरमा हामीकहाँ यसबाट जोगिनको लागि स्रोत र साधनको अभाव थियो । कोरोनाको डर यत्ति धेरै देखिन्थ्यो कि कोही घरबाट बाहिर निस्किन खोजिरहेको थिएन । मानिसमा सतर्कता बढी थियो । सतर्कता बढी भएर सर्वसाधारणमा डर बढी देखिएको थियो । जबकि पहिलो उफारमा सङ्क्रमण यति धेरै तीव्र देखिएको थिएन । साधन स्रोत केही नहुँदा, सतर्कता बढी भएकोले होला, पहिलो उफारमा धेरै मानिसको मृत्यु भएको सुनिएन । पहिलो उफारमा सबैभन्दा बढी मानिस क्वारेन्टाइनमा देखिए ।
यसको मूल कारण थियो बाहिरबाट मानिस घर फर्किनु तर दोस्रो उफारमा भने दृश्य केही फरक दृश्य थियो । गत वर्ष आएको कोरोनाको दोस्रो उफारमा मानिसमा धेरै सतर्कता देखिएन, मानिस धेरै हदसम्म लापरवाह देखिए । पहिलो उफारको तुलनामा दोस्रो उफारको गति निकै तीव्र थियो । हुनत दोस्रो उफारमा मानिस अभ्यस्त पनि भइसकेका थिए, अभ्यस्त भएकाले केही अप्ठ्यारो पनि भयो । वास्तवमा धेरै मानिसको मृत्यु हुन पुग्यो । हेर्दाहेर्दै धेरै मानिसको मृत्यु भयो । हुनत मृत्युको अरू पनि कारण देखाइयो शायद त्यसैले कोरोनाले उच्च फड्को मारिरहँदा सरकारले लागू गरेको गाइडलाइन धेरैले मानेनन् । नमानेको कारण सङ्क्रमण बढ्यो र खतरनाक र विनाशकारी रूप देखायो । अन्ततः क्षति समाजलाई नै भयो, देशलाई नै भयो ।
अहिले कोरोनाको तेस्रो उफार आइरहेको छ । यस उफारको समयसम्म आइपुग्दा यसविरुद्ध पहिलेभन्दा बढी स्रोत र साधन समाजसित छ । मानिसमा धेरै सचेतना आइसकेको छ, तर लापरवाहीको हद कत्ति हुन्छ भन्ने कुरा बुझ्न धेरै समय कुर्नुपर्दैन । अहिले नै बजार हेर्दा थाहा हुन्छ । बजारमा मास्कले नाकको कति भाग छोपेको हुन्छ ? अब फेरि पुलिसलाई देख्नेबित्तिकै नाक र मुख छोप्न थालेका छन् मानिसले । पुलिसलाई देखेर सतर्क हुनु भनेको अन्य कुनै पनि समयमा ऊ सतर्क नभएको हो भन्ने कुराको सङ्केत हो ।
पुलिसले सचेत गराउँछ भन्नेतर्फ पनि सङ्केत हो । वास्तवमा पुलिसले सतर्क गराउनुपर्ने हो भने आमसञ्चारलाई कहाँ हामीले बुझ्न सक्यौं त ? राम्ररी विचार गरेको भए जनगणनाको समयभन्दा अगाडि र पछाडि अर्थात् अहिलेसम्म पनि कहीं कतै फोन गर्दा नेपाल टेलिकमको सन्देश कानमा गुन्जिएको हुनुपर्छ । निरन्तर कानमा जुन सन्देश सरकारले हामीलाई पु¥याएको छ, त्यसलाई खोई हामीले सुन्न सकेको ? खोई हामीले बुझ्न सकेको ? एउटै कुरालाई सयौं, हजारौंचोटि सुन्दा पनि नसुन्ने, नबुझ्ने र परिपालन नगर्र्ने हामीले, अहिले कोरोनाको तेस्रो उफारको समयमा डरले नै भए पनि परिपालन गर्ने कुरा, आफू, आफ्नो परिवार, समाज र देशप्रति जिम्मेवारीबोध गरेको भन्न सकिन्छ ।
नेपाली धरतीमा कोरोनाको तेस्रो उफारको बाछिटा आइसकेको छ । यस बाछिटाले देशका कतिपय विशिष्ट राजनीतिज्ञलाई चपेटमा पारिसकेको छ । हरेक दिन यसले बिस्तारै गाँज्दै गएको देखिएको छ । यद्यपि हाम्रो धरतीमा यसले अहिलेसम्म विस्फोटको रूप लिएको छैन । अबको समयमा यदि सावधान रहने बानी बसालियो भने धेरै हदसम्म पहिलो र दोस्रो उफारको समयमा समाज र देशले भोग्नुपरेको जोखिम कम हुन्छ र सावधानीभन्दा ठूलो औषधि अरू केही हुन नसक्ने यथार्थलाई मनन गर्नुपरेको छ ।
यस उफारबाट जोगिनको लागि हरेक व्यक्ति हरेक मिनट तयार रहनुपर्छ । हरेकपटक बाहिर निस्कँदा–किन बाहिर निस्कनुप¥यो होला, हरेकपटक बाहिरबाट घर पस्दा अनिवार्यरूपमा साबुन पानीले मिचिमिची हात धुने, सम्भव भएसम्म कपडा फुकालेर अन्यत्रै राख्ने र आज फुकालेको कपडा भोलि नभई एकैपटक पर्सि लगाउने कोशिश गर्दा राम्रो हुन्छ । यसरी सुरक्षा र सावधानीका अन्य उपाय अवलम्बन गर्नु अहिलेको वैयक्तिक कर्तव्य र सामाजिक तथा राष्ट्रिय धर्म मान्नु आवश्यक देखिएको छ ।
वास्तवमा अहिले सरकारले विद्यालयहरू बन्द गरेको छ तर यदि समाजमा कोरोनाको उफार अगाडि बढेमा त्यसको गति नियन्त्रण गर्न अझ कडा कदम चाल्नुपर्ने हुन्छ । यसर्थ समाज र देशलाई भयावहताबाट जोगाउन अहिले नै सम्भव भएसम्म सतर्क हुनु आवश्यक छ । कोरोनाको तेस्रो उफारको वर्तमान समयमा यसबाट सतर्क र सावधान रहनु नै उचित हुन्छ । सम्भव भएसम्म हामीले हाम्रो धरतीलाई कोरोनाबाट जोगाउनु पर्छ ।