प्रस, वीरगंज, २७ पुस/
मधेसी नेताहरू मन्त्री बन्नको लागि पूर्वप्रधाममन्त्री केपीशर्मा ओलीको शरणमा विगतमा जान बाध्य भएको बताइएको छ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वीरगंज आएर मङ्गलवार सो कुरा बताएका हुन् ।
नेकपा एमाले पर्सा जिल्लाको आठौं अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले ओलीलाई मधेसविरोधी नेता बताउने तथा जनताको मनमा वितृष्णा उत्पन्न गर्ने मधेसी नेताहरू मन्त्री बन्नका लागि ओलीको शरणमा पुगेको चर्चा गर्दै आगामी दिनमा एमालेमा एकताको लहर ल्याउनुपर्ने आवश्यक रहेको बताए ।
उनले पुस मसान्तभित्र एमालेमा अन्य पार्टीका स्वागत गर्न सकिने नेता, कार्यकर्ताहरूलाई योजना बनाएर माघ र फागुन मसान्तसम्म भिœयाउने अभियान नै चलाउनुपर्ने केन्द्रीय तप्काका नेताहरूको निर्देशन रहेको उनले बताए ।
उनले सुनकोशी डाइभर्सनले प्रदेश २ मा सिंचाइ १२ महीना हुने योजना ओलीको पालामा अघि बढिसकेको, दुई घण्टामा काठमाडौंको बजारसम्म यहाँका उत्पादन पु¥याउन बहुप्रतीक्षित काठमाडौं–तराई/मधेस द्रुतमार्गको पुल र सुरुङमार्गको टेन्डर पूरा गराइ निर्माणको चरणमा रहेकाले प्रदेश २ विकसित र समृद्धिको योजना नेकपाकै सरकारको पालामा अघि बढेको बताए ।
उनले प्रचण्ड र माधवकुमार नेपालको गद्दारीका कारण नेकपाबाट एमाले अलग्गिएको भन्दै अब एमालेभित्र गद्दारी गर्ने कसैको हिम्मत नहुने पनि उनले ठोकुवा गरे । प्रदेश २ मा मधेसवादी दलबाट मुख्यमन्त्री भएपनि जनताले हकअधिकार नपाएको बताए । उनले पूर्वप्रधानमन्त्री ओली मधेसका सच्चा शुभचिन्तक रहेको बताए ।
मधेसमा देखिएको विकास ओलीकै कारण भएको उनले दाबी गरे । अहिले विभिन्न दलका नेताहरूले जश लिन तँछाडमछाड गरे पनि तराई–मधेस योजना अनुसार प्रदेश २ मा काम भइरहेको बताए ।
स्थायी कमिटी सदस्य एवं प्रदेश २ का इन्चार्ज रघुवीर महासेठले तराई समृद्धि योजनाको लागि मुलुकभरिमा १४ सय निर्माणाधीन सडकहरूको निर्माण कार्य देउवाको सरकारको पालामा ठप्प भएको आरोप लगाए । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश २ का सहइन्चार्ज प्रभु साहले नेकपा टुक्रिएर पुनः एमाले र माओवादी केन्द्र बनेपछि जर्ती नेताहरू सबै एक ठाउँमा र राम्रा नेताहरू सबै एमालेमा आएकाले आगामी निर्वाचनमा मधेसमा एमालेको लहर चल्ने दाबी गरे ।
नेकपा एमाले, पर्साका अध्यक्ष प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश २ की सहइन्चार्ज ज्वाला साह, प्रदेश २ का अध्यक्ष रामऔतार यादव, पोलिटब्यूरो सदस्यहरू सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, अच्युत मैनाली, केन्द्रीय सदस्यहरू निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए ।
उद्घाटन सत्रपश्चात् बन्दसत्र शुरू भएको छ । बन्दसत्रले सकेसम्म सर्वसम्मत जिल्ला कमिटी गठन गर्नेछ । एमाले, पर्साका करीब ७८३ जना जिल्ला अधिवेशन प्रतिनिधि बन्दसत्रमा सहभागी छन् ।
जिल्ला अध्यक्षमा डा विश्वम्भर शर्मा, जयप्रकाश थारू, विचारी यादव, सुन्दर कुर्मी, मनोज गुप्तालगायतको दाबेदारी छ ।