काठमाडौं, २७ पुस/रासस

प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले लगातार दोस्रो जीत हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मङ्गलवार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा एपिएफले वाग्मती प्रदेशलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गराएको हो । यसअघि हिजो भएको पहिलो खेलमा एपिएफले प्रदेश नं २ लाई २४ रनले पराजित गरेको थियो।

यस जीतसँगै एपिएफले दुई खेलबाट ४ अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ । वाग्मतीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गरेको थियो । वाग्मती र प्रदेश नं २ को समान दुई/दुई अङ्क छ । वाग्मती अङ्कतालिकाको दोस्रो स्थानमा छ भने वाग्मती प्रदेशले दिएको १२६ रनको लक्ष्य एपिएफले १८ दशलमव ४ ओभरमा मात्र तीन विकेट गुमायो । एपिएफका लागि लोकेश बमले अर्धशतकीय पारी खेले । उनले २४ बलको सामना गदै १० चौका र एक छक्काको मदतमा ५० रनको योगदान दिए । यस्तै, प्रदीप ऐरीले ३६ रन जोड्दै अविजित रहे ।

बलिङतर्फ वाग्मती प्रदेशका प्रतीश जिसी, रामनरेश गिरी र रिजन ढकालले समान एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वाग्मती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो । वाग्मती प्रदेशका लागि इशान पाण्डेले सर्वाधिक २९ रनको योगदान गरे भने नन्दन यादवले २४, सुवास खकुरेलले २१ तथा आदिल खानले १९ रन बनाए ।

एपिएफका अविनाश बोहोराले सर्वाधिक चार विकेट लिए भने कमल ऐरीले दुई विकेट हात पारे । त्यस्तै, शरद् भेषवाकर र किशोर महतोले एक/एक विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here