प्रस, वीरगंज, २६ पुस/

वीरगंज महानगरपालिकाले माघ १० गतेदेखि भुस्याहा कुकुरलाई रेबिजविरुद्ध खोप दिनुको साथै बन्ध्याकरण अभियान सञ्चालन गर्दैछ । वीरगंज महानगरपालिका पशु केन्द्र र बिन्दु आमा फाउन्डेशनको सहकार्यमा वीरगंज महानगरमा रहेका भुस्याहा कुकुरविरुद्ध यो अभियान शुरू हुन लागेको हो ।

वीरगंज महानगर–४ बाट अभियानको शुभारम्भ हुन गइरहेको छ । वडाध्यक्ष जगतसाह कानूले आफ्नो वडामा रहेका भुस्याहा कुकुरहरूको गणना गर्ने र उनीहरूलाई माघ १० गतेदेखि रेबिजविरुद्ध खोप तथा बन्ध्याकरणको लागि तयारी गर्ने कार्य सोमवारदेखि शुरू भएको बताए । आजदेखि शुरू भएको अभियानमा वडाभरिका कुकुरलाई मासुभात खुवाउने र प्रभावमा लिने तथा उनीहरूलाई माघ १० गते रेबिजविरुद्ध खोप र बन्ध्याकरण गरेर वडाको चार स्थानमा व्यवस्थापन गरिने बताए ।

वडामा अनुमानित डेढ सयभन्दा बढी भुस्याहा कुकुर रहेको उनले बताए । बिन्दु आमा फाउन्डेशनकी सदस्य प्रतिमा कोइरालाले रेबिजविरुद्ध प्रतिखोप रु एक सय र बन्ध्याकरणका लागि ३ देखि ५ हजार निर्धारण गरिएको बताइन् । उनले आजदेखि कुकुरहरूलाई आकर्षित गर्ने अभियान शुरू गरिएको र वडा नं. ३ मालपोत जाने बाटोमा रहेको मोटरसाइकल पार्किङस्थल, वडा समितिको कार्यालय अगाडि, गणेशमान चोक र भगवतीटोल गरी पाँच स्थानमा भुस्याहा कुकुरहरूको लागि अस्थायी टेन्टको व्यवस्थापन गरिएको बताइन् ।

उनले आजदेखि मासुभात खुवाएर कुकुरहरूलाई आफू केन्द्रित बनाउने र माघ १० गतेदेखि रेबिजविरुद्ध खोप, बन्ध्याकरणका साथै भुस्याहा कुकुरको व्यवस्थापन गरिने बताइन् । उनले यो अभियान वडा नं. ४ बाट शुरू भएर ३२ वटै वडामा चलाइने जानकारी गराइन् । वीरगंज महानगरपालिकामा रहेका भुस्याहा कुकुरहरूको गणना पनि यसै क्रममा हुने उनले बताइन् ।

यस अघि भुस्याहा कुकुरविरुद्ध अभियान पर्सागढी नगरपालिकामा गरिएको थियो । कलैयाको एउटा संस्थाले भुस्याहा कुकुरलाई खोप दिने, बन्ध्याकरण गर्ने कार्य गरेको हाम्रा संवाददाताले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here