प्रस, सेढवा, २६ पुस/
सिसिएमसीको बैठकले माघ १५ गतेसम्म देशभरिको विद्यालय बन्द गर्न सिफारिश गरे बमोजिम विज्ञान तथा शिक्षा मन्त्रालयले सोमवार विज्ञप्ति जारी गरी विद्यालय बन्द गर्न निर्देशन जारी गरेको छ ।
सिसिएमसीको आइतवार बसेको बैठकले सिफारिश गरेपछि मन्त्रालयले आज सो निर्देशन जारी गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै पुस २७ गतेदेखि माघ १५ गतेसम्म वार्षिक बिदामा मिलान हुनेगरी आधारभूत तथा माध्यमिक विद्यालयहरू बन्द गर्न निर्देशन गरेका छन् । उनले बिदा अवधिमा १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीहरूलाई आआफ्नो स्थानीय तहको स्वास्थ्य चौकीमा खोप लगाउने कार्यक्रम रहेकोले सोमा सहभागी हुन आग्रह गरेका छन् ।
यसैबीच पर्सा जिल्लाका विद्यालयहरू सोमवार सञ्चालनमा आए । चार दिनसम्म चीसोको कारण बन्द भएका यहाँका विद्यालयहरू आइतवारदेखि सञ्चालनमा आएको र सोही दिन बसेको सिसिएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिश गरेको थियो ।
सखुवापरसौनी गाउँपालिकास्थित दीपनारायण नमूना मावि औराहा, पचगावाँका प्रअ शिवनाथमहतो थारूले विज्ञान तथा शिक्षा मन्त्रालयको परिपत्र आएकोले भोलिदेखि विद्यालय बन्द हुने बताए । सोमवार पर्सा जिल्लाका विद्यालयहरू सञ्चालनमा रहे पनि विद्यार्थी सङ्ख्या पनि थोरै थियो ।
वीरगंज महानगरपालिकाले भने बुधवारदेखि मौसमको प्रतिकूलताको कारण विद्यालय बन्द गर्ने बताएको थियो तर मन्त्रालयको विज्ञप्तिपछि महानगरका विद्यालयहरू पनि पुस २७ गतेदेखि बन्द हुने भएका छन् ।