प्रस, वीरगंज, २६ पुस/

वीरगंज महानगरपालिकाले सोमवार विपी उद्यानमा रहेको खुद्रा पसल खाली गराएको छ ।
माईस्थान मीनाबजार निर्माण हुनुअघि विपी उद्यानमा तरकारी पसल र उद्यानकै उत्तरतर्फ हुलाक अगाडि खुद्रा पसल नबनुन्जेल विपी उद्यानमा कारोबार गर्न दिएको तर दुवै ठाउँमा बजार र सेढ निर्माण भएको वर्षौ बित्दा पनि खुद्रा व्यापारीहरूले उद्यानमा डेरा जमाएर बसेको कारण आज महानगरले हटाउने काम गरेको हो ।

योसँगै महानगरपालिकाले विपी उद्यानमा रहेका खुद्रा पसललाई तीनपटक हटाउने प्रयास गरेको थियो । पटक–पटक हटाउने प्रयास गरेको कारण महानगरका कर्मचारीमाथि आरोप लाग्ने गरेको छ । विपी उद्यानबाट महानगरपालिकालाई कुनै राजस्व उठ्दैन । तर त्यहाँबाट विभिन्न व्यक्तिहरूले रङ्गदारी उठाउँदै आएको छ ।

रङ्गदारी उठाउनमा नगरप्रहरी पनि आरोपमुक्त छैन । सनक चढेपछि उद्यानबाट खुद्रा पसलेलाई हटउाने र स्वार्थ पूरा भएपछि चुप लागेर बस्ने महानगरको रवैयाले खुद्रा पसलहरूले बेलाबखत उनीहरूमाथि आरोप लगाउने गरेका हुन् । अहिले पनि केही पसलेहरूले उद्यानबाट खुद्रा पसल हटाउने क्रममा भेदभाव भएको आरोप लगाएका छन् । 

महानगरका कर्मचारी सर्फुद्दीन मियाँले तीन महीनादेखि खुद्रा पसल हटाउन पत्र काटिएको तर अटेर गरेपछि आज भत्काइएको बताए ।

नगरप्रमुख विजय सरावगीले खुद्रा पसल हटाउने काममा महानगर कर्मचारीबाट भेदभाव नहुने बताए । उनले महानगरको आफ्नै योजना भएकोले ढिलो–चाँडो सबै पसल हटाउने योजना भएको बताउँदै आज छुटेका पसललाई भोलि हटाउने आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here