प्रस, परवानीपुर, २६ पुस/

गण्डक–जगरनाथपुर नहरको सडकखण्डमा रहेको श्रीसिया पुलको स्ल्याब भत्किएर आवागमन ठप्प भएको छ ।
आज दिउँसो स्ल्याब भत्किएपछि यो सडकखण्ड भएर पैदलयात्री, मोटरसाइकल र साइकल मात्र जोखिमपूर्ण यात्रा गरेका थिए भने त्यसबाहेकका सवारी साधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ । नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले नहरको रेखदेखको लागि सडकखण्ड निर्माण गरे पनि पछिल्लो समयमा यो क्ष्Fेत्रमा उद्योगहरू खुलेका र ठूला सवारी साधनको आवागमन बढेपछि पुल कमजोर भएको छ ।

गण्डक–जगरनाथपुर नहर सडकमा अहिले सिमेन्ट उद्योग, दाना उद्योग, औषधि उद्योगलगायत सञ्चालनमा छन्। ठूला सवारी साधनको नियमित आवतजावत हुँदै आएकोले श्रीसिया पुल कमजोर भएको हो ।

नारायणी सिंचाइका इन्जिनीयर सुबोध कुशवाहाले पुल कमजोर भएकोबारे आधा दशक अघि मन्त्रालयको ध्यानाकर्षण गराएको तर मरम्मत, सम्भार तथा पुनर्निर्माणको लागि बजेट विनियोजन भएर नआएको बताए । उनले गण्डक नहरकै बाराको परसौनी, नकटुवामा रहेको बंगरी पुलको अवस्थामा पनि जर्जर भएको बताए । उनले पुलको पश्चिमतर्फको स्ल्याब भासिएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here