प्रस, परवानीपुर, २४ पुस/

निजगढ नगरपालिका, बाराले प्रेस चौतारी नेपाल बाराका नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई सम्मान गरेको छ । शनिवार नपाको सभाहलमा आयोजित कार्यक्रममा नगरपालिकाकी उपमेयर लीलादेवी लामिछाने खनालले पदाधिकारीहरूलाई खादा ओढाएर सम्मान गरेकी थिइन् ।

सम्मान कार्यक्रममा प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी, उपाध्यक्षद्वय राधेश्याम पटेल र नीलिशा वर्मा, सचिव अनिल तिवारी, सहसचिवद्वय इन्दिप कोइराला र रेणु चौधरी, कोषाध्यक्ष थानेश्वर सापकोटा, सदस्यहरू जिउत यादव, शम्भु महतो, मीनाक्षी चौधरी, राजु साह, श्रीराम रेग्मी, तुलसा घिमिरे, प्रेस चौतारी नेपाल बाराबाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि गोकुल घोरसाइने र लक्ष्मी पाण्डेलगायतलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै सञ्चारकर्मी समाजको दर्पण भएको भन्दै समाज उत्थानको लागि सशक्त भूमिका निर्वाह गर्न आग्रह गरिन् । उनले नेकपा एमाले पार्टीबाट बाराको तीनवटा पालिकामा महिला उपमेयर चुनाव जिते पनि महिला जनप्रतिनिधिहरूको राम्रो काम सञ्चार माध्यममा खासै नआएको बताइन् ।

पुरुषप्रधान समाज भए पनि महिला जनप्रतिनिधिको राम्रो काम सञ्चार माध्यममा आउँदा महिला जनप्रतिनिधिहरूको हौसला बढ्ने उनले विश्वास व्यक्त गरिन् । उनले बाराको पत्रकारिता सुदृढीकरणमा निजगढ नगरपालिका हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा धन्यवाद दिंदै प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारीले हालै पाँचौं अधिवेशनबाट निर्वाचित नयाँ जिल्ला कार्यसमितिलाई निजगढ नगरपालिकाले सम्मान गरेकोमा आभार प्रकट गर्दै समाज विकासको लागि सदैव अग्रसर रहने बताए ।

कार्यक्रममा नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष सुरथ पुरी, उपाध्यक्ष भोला गौतमलगायतको सहभागिता थियो ।

बैठकद्वारा यस्ता निर्णय

प्रेस चौतारी नेपाल बाराको पाँचौं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक शनिवार सम्पन्न भएको छ ।

बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने स्थानीय सरकारसहित नेकपा एमाले जिल्ला कमिटी, प्रेस चौतारी नेपाल केन्द्रीय कमिटी, प्रदेश कमिटी, विभिन्न सङ्घसंस्थालगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै तीनजना कार्य समिति सदस्य मनोनीत गरेको र प्रदेश अधिवेशन प्रतिनिधि छनोट गरेको छ ।

प्रदेश अधिवेशनका प्रतिनिधिहरूमा अनिल तिवारी, अनिल गौरव, शम्भु महतो, रुद्र धिताल, प्रभात तिमिल्सिना, जियालाल चौधरी, दुष्यन्त चौधरी, सपना ढकाल, भवानी सुवेदी र रेनु चौधरी छनोट भएका छन् ।

त्यसैगरी, नेकपा एमाले बाराको पुस २८ र २९ गते हुने जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपाल बाराको तर्फबाट कमलकुमार उपाध्याय र जिउत यादवलाई प्रतिनिधि पठाउने निर्णय भएको छ ।

बैठकले प्रेस चौतारीका सात पदाधिकारी र दुई सदस्य रहेको ९ सदस्यीय सचिवालय निर्माण गरेको छ । बैठकले प्रेस चौतारी नेपाल बारामा आबद्ध सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि विभिन्न क्षेत्रसँग सहकार्य गरेर क्षमता अभिवृद्धि तालीम, प्रशिक्षणलगायत कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकमा चौतारीको महाधिवेशन प्रतिनिधि गोकुल घोरसाइनेले निर्वाचित कार्यसमिति पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here