प्रस, वीरगंज, २३ पुस/
पिस फर दलित फाउन्डेशन नेपाल प्रदेश २ को सहजीकरणमा सखुवाप्रसौनी गाउँपालिका–३ कौवावनकटैयाका ६० मुसहर घरपरिवारलाई न्यानो कपडा, कम्बल वितरण गरिएको छ ।
अमेरिकामा रहेका अमर क्षत्रीले उपलब्ध गराएको १ लाख ६७ हजार रकमबाट साठी घरपरिवारका सदस्यलाई कम्बल र ८० जना बालबालिकालाई टोपी, ज्याकेट, ट्राउजर उपलब्ध गराएको फाउन्डेशनका अध्यक्ष मनोज रामले बताए । विगत केही समयदेखि बढेको चीसोका कारण दलित समुदायको जीवन कष्टकर भएको कुरालाई दृष्टिगत गरी क्षत्रीले उनीहरूलाई न्यानो कपडा उपलब्ध गराउन रकम पठाएको र सोही रकमबाट कम्बल, ज्याकेट, टोपी, ट्राउजर वितरण गरिएको अध्यक्ष रामले प्रतीकलाई बताए ।
उनले शीतलहरसँगै चीसो बढेपछि पर्सा जिल्लाका दलित समुदायको दैनिकी कष्टकर भएको, बालबालिका, ज्येष्ठ नागरिकहरूको अवस्था झनै कहालीलाग्दो रहेको बताए । उनले यो समुदायलाई सहयोग गर्न अपील पनि गरेका छन् । अमेरिका निवासी क्षत्रीले यसअघि दलित समुदायको लागि घर बनाउने र बिरामी बच्चाको लागि आर्थिक सहयोग गरेका थिए ।
न्यानो कपडा वितरण कार्यक्रम दलित दबाब समूहका अध्यक्ष जियालाल महरा चमारको अध्यक्षता तथा गौतम देवीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा फाउन्डेशनका सदस्य परमानन्द राम, अशोक रामलगायतको सहभागिता थियो ।