जीतलाल श्रेष्ठ, निजगढ, २३ पुस/

छ महीनाअघि रतनपुरी अस्थायी प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक शम्भुप्रसाद यादवले गाँजा तस्करसँग सात लाख रुपैयाँ मोल गरेर छाडेका चारजना अभियुक्तमध्ये थप एकजना पक्राउ परेका छन् । अटोधनी निजगढ नगरपालिका–१२ रामथलीका ५२ वर्षीय पाल्साङ तितुङलाई काठमाडौंबाट प्रहरीले प्रक्राउ गरेको हो ।

नेपाल प्रहरीको अपराध महाशाखा, काठमाडौंले काठमाडौंको बौद्ध जोरपाटी आसपास आफन्तको डेरामा लुकीछिपी बस्दै आएका अटोधनी तितुङलाई शुक्रवार बिहान पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बारालाई बुझाएको छ ।

बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए ।

गत जेठ ३१ गते राति बाराको निजगढ नगरपालिका रतनपुर जङ्गलमा गाँजा तस्कर निजगढ नगरपालिका–१२ रामथलीका ३० वर्षीय सोमबहादुर थिङ र प्रहरी इन्चार्ज यादवबीच रकमको बार्गेनिङ भएको कुरा बाहिर आएको थियो ।

यसअघि नै पक्राउ परेका थिङले रतनपुर अस्थायी प्रहरी चौकीका तत्कालीन इन्चार्ज शम्भुप्रसाद
यादवले आफूसँग घटनास्थलमा सात लाख रकम माग गरेको र आफूले उक्त रकम दिन नसक्ने भनेपछि अढाई लाख रुपैयाँ दिने सहमतिमा छाडेको बताएका थिए ।

उक्त घटनामा प्रहरीले मानिससहित गाँजा लोड अटो, मोटरसाइकल नियन्त्रणमा लिई हतकडी लगाइसकेपछि रकम बार्गेनिङमा आफूलाई छाडिदिएको प्रारम्भिक बयानमा तितुङले बताएको प्रहरीले जनाएको छ ।

अटोधनी तितुङसहित उनका छोराले उक्त राति करीब ८ बजे रतनपुरबाट निजगढतर्फ प्रदेश २—०३—००१ ह ३२१ नम्बरको अटोमा ६० किलो गाँजा राखी ल्याउँदै गर्दा रतनपुरी अस्थायी प्रहरी चौकीका तत्कालीन इन्चार्ज प्रसनि यादवसहितको प्रहरी टोलीले पक्राउ गरेर पनि रकम बार्गेनिङमा अभियुक्तहरूलाई मुक्त गरी गाँजासहितको टेम्पो बेवारिसे बनाएका थिए ।

घटनाका मुख्य नाइकेमध्येका थिङलाई यही पुस ४ गते मकवानपुरको नामटारबाट पक्राउ गरिएको थियो । सोही घटनाका गाँजा कारोबारी दिनेश लामालाई समेत प्रहरीले खोजी सूचीमा राखेको छ । पक्राउ परेका तितुड्ढा छोरा पनि सो घटनापछि फरार छन् । तितुङलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

सो घटनामा प्रहरी नै मुछिएसँगै जिल्ला प्रहरी कार्यालय, बाराले तीन सदस्यीय छानबीन टोली गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here