काठमाडौं, २३ पुस/रासस
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रवारदेखि शुरू भएको आठौं चरणको पहिलो खेलमा सङ्कटा क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटा र सातदोबाटोले एक/एक गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा एक/एक गोल गरेका थिए ।
सातदोबाटोका लागि सुशील राईले गोल गर्दा उता सङ्कटाका लागि जया गुरुङले बराबरी गोल फर्काएका थिए । खेलको २३औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । नीरज बस्नेतको ब्याक पासमा गोलरक्षक राजाबाबू थापाले गलती गरेपछि राजाबाबूले क्लियर गरेको बल सुशीलको घुँडामा लाग्दै गोलमा परिणत भएको थियो ।
सातदोबाटोको १–० को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ३२औं मिनेटमा सङ्कटाका खेलाडी जयाले गोल गर्दै खेललाई एक/एक को बराबरीमा ल्याए । दीपेश आलेमगरको पासलाई उनले करीब ३० यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि खेल एक/एक गोलको बराबरीमा टुङ्गिएको हो ।
यस बराबरी खेलसँगै अपराजित रहेको सङ्कटा ८ खेलबाट १४ अङ्क जोडेर अङ्कतालिकाको तेस्रो स्थानमा पुगेको छ भने समान खेल खेलेको सातदोबाटो ९ अङ्क जोडेर अङ्कतालिकाको आठौं स्थानमा पुगेको छ ।