प्रस, सेढवा, २३ पुस/

जीराभवानी गाउँपालिका–२ सेढवाका किसान चन्द्रदेवदास थारू आफ्नै गाउँमा मल पाएपछि दङ्ग परेका छन् । बेलाबेलामा वर्षा हुँदा गहुँबालीमा सिंचाइ भएको र युरिया मल छर्ने बेलामा सहजै गाउँमा मल पाएपछि उनी दङ्ग परेका हुन् ।

कृषि ज्ञान केन्द्र, पर्साको सिफारिशमा कृषि सामग्री कम्पनीले प्रत्येक स्थानीय तहलाई खेतीयोग्य जमीनको क्षेत्रफलको हिसाबले मल वितरण गरेकोमा ढिलै भएपनि किसानहरूले सहजै मल पाएका छन् ।

नेपाल सरकारको अनुदानको मल पाएपछि भारतीय बजारमा महँगो मूल्यमा मल किन्नुनपरेको किसानहरूको भनाइ छ । यसअघि किसानहरू मलको लागि भौंतारिने गर्थे । तर अहिले किसानहरूले आलोपालो गरी मल पाइरहेको थारूले बताए ।

पटेर्वासुगौली गापा–२ मकवानीटोल निवासी किसान बिगा महरा चमारले बेलाबेलामा पानी पर्दा सिंचाइ गर्नुपर्ने झन्झट नभएको र गहुँबालीमा युरिया मल छर्ने बेलामा सहजै पाएकोमा खुशी व्यक्त गरे ।

यसैगरी, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष एवं पटेर्वासुगौली गापा–२ अध्यक्ष विजय गैरेले कृषि सामग्री कम्पनीले आवश्यकताभन्दा कम मल दिएको कारण वितरणमा कठिनाइ भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here