• राजेश मिश्र

यस क्षेत्रको मुख्य पहिचान थियो, वीरगंज चिनी कारखाना । पर्सादेखि सर्लाहीका हजारौं परिवारको आर्थिक उन्नति वीरगंज चीनी कारखानामा निर्भर थियो । उहिलेको धरोहर अहिले खण्डहरमा परिणत भइसकेको छ । अर्बौंको सम्पत्ति खेर गइरहेको छ । सयौं बिघा जमीन उपयोगविहीन छ । चिनी कारखाना एकमात्र यस्तो उद्योग हो, जसको लागि कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्दैन ।

चिनी कारखाना नितान्तरूपमा कृषि र किसानसँग सम्बद्ध उद्योग हो । सरकारी वा निजी जुनसुकै स्तरबाट भएपनि कारखाना सञ्चालन गर्ने अग्रसरता यस क्षेत्रका साथै प्रदेश र देशको आर्थिक उन्नतिको खुड्किलो हुन सक्छ । देश विकासको नारा घन्काउने शीर्षजनको भाले/पोथी मात्र पनि हराएमा जसरी ताण्डव मच्चाउने हिम्मत जाग्रत हुन्छ, त्यसैगरी महŒवपूर्ण कार्यका लागि दृढ सङ्कल्पित हुने हो भने आर्थिक उन्नतिको गोरेटो खण्डहरमा परिणत हुने थिएन । नितान्तरूपमा खण्डहरमा परिणत उद्योगहरूको पुनर्उत्थान राजनीतिक नेतृत्वकर्ता र सत्तामा सन्निहित छ ।

आजको यस आलेखमा जुन वृद्धको अनुभव साझा गरिंदैछ, उनी आजभन्दा ५२ वर्षअघि तन्नेरी थिए । मुहारमा जुङ्गा र दाढीको सूक्ष्म छाया प्रकटोन्मुख थियो । सोही बेला अर्थात्् विसं २०२६ मा उनी वीरगंज चिनी कारखानामा सहचालक पदमा बहाल भए । झन्डै ३२ वर्ष काम गरे र सेवानिवृत्त भए । पर्साको पोखरिया नगरपालिका वडा नं ४ का गोरख साह कानूसँग भएको संवादको संक्षिप्त अंश ः

गोरख साह कानू
(सेवानिवृत्त ट्याक्टर चालक, विचिकालि)

काम जुनसुकै भए तापनि रोजगारको आकाङ्क्षा उत्कर्षमा थियो । तन्नेरी थिएँ । दुई/चार पैसा आर्जन गर्नुपर्छ भन्ने सोच थियो । आज जसरी कोरोनाको डरलाग्दो परिस्थिति छ, उसैगरी उहिले मलेरियाजन्य परजीवीकोे प्रकोप उग्र थियो । उपचारको अभावमा ज्यान जाने जोखिम उच्च थियो । सरकारी अवधारणा अनुसार मलेरिया निवारण हेतु विभिन्न ठाउँमा कार्यालय सञ्चालन हुन थाल्यो । संयोग नै भन्नुपर्छ, मलेरिया निवारण कार्यक्रम अन्तर्गत पोखरियामा पनि कार्यालय स्थापना भयो ।

म कामको आकाङ्क्षी थिएँ र रोजगारको अवसर द्वारमा आइपुग्यो । मैले प्र्रयत्न गरें र रोजगारको अवसर प्राप्त भयो । घरघरमा पुगेर मलेरियाविरुद्धको औषधि छर्कने काम पाएँ । मलेरियाको औषधि छर्कने कार्यका लागि दैनिक ज्यालादारीमा भए तापनि काम पाउनु नै मेरो लागि उत्साहपूर्ण क्षण थियो । दुई/चार पैसा हातमा आउन थालेपछि म असाध्यै खुशी थिएँ । तोकिएको क्षेत्रमा दिनभरि औषधि छर्कने काम गर्थें । उहिले प्रायः फुस र खपडाको घरमा खरको टाटी हुन्थ्यो । प्रत्येक घरका भित्ताहरूमा औषधि छर्कने काम गर्नुपथ्र्यो । यद्यपि मन प्रफुल्लित थियो । मलाई याद भएसम्म सम्भवतः तीन/चार सिजन काम गरें ।

मलेरियाकाको औषधि छर्कने काम सिजनल भए तापनि म सन्तुष्ट थिएँ । मलेरिया निवारण कार्यक्रम कति वर्षको लागि हो ? कार्यक्रमको लक्ष्य सम्पन्न भइसकेपछि म के गर्छु ? आदि सोच्ने चेतना नै थिएन । युवा चेतनामा भविष्यभन्दा पनि वर्तमानसँग बढी सरोकार हुँदो रहेछ। यसैबीच अर्को संयोगले मेरो भाग्य फेरियो । रोजगारको बाटो परिवर्तन हुनुका साथै भविष्य सुरक्षित हुने कामको अवसर जु¥यो ।

वीरगंज चिनी कारखानामा विभिन्न पदमा आवेदन माग भएको थियो । साथीहरूको लहलहैमा मैले पनि सहचालक पदको लागि फर्म भरें । केही महीनापछि नतीजा प्रकाशित भयो । मेरो पनि नाम रहेको कुरा आफन्तजनबाट थाहा पाएँ । तर खुशीको तरङ्ग तबसम्म ह्दयमा महसूस हुन सकेन, जबसम्म आफ्नै आँखाले प्रकाशित भएको पानामा आफ्नो नाम हेरिनँ । त्यसपछि मन कति गद्गद् भयो भन्ने कुरा वर्णन गरेर साध्य छैन । विसं २०२६ मा सहचालकको पदमा वीरगंज चिनी कारखानामा कार्यभार सम्भालें ।

चिनी कारखानाको जागीर मौसमी भए तापनि आजीविकाको स्थायी स्रोत भएकोले ढुक्क थिएँ । रु १५० तलबमा सहचालक पदमा काम गर्न थालेको एक वर्षपछि तलब वृद्धि भई रु ३०० भयो । सोको दुई वर्षपछि चालक पदमा पदोन्नति भएपछि रु ५ हजार तलब पाउन थालें । प्रत्येक ट्याक्टरका लागि दुईजना चालक र दुईजना सहचालक गरी जम्मा चारजना छुट्याइएको थियो। प्रत्येक २४ घण्टामा जिम्मेवारी परिवर्तन हुन्थ्यो । जस्तै एक चालक र एक सहचालकले बिहान छ बजेदेखि भोलिपल्टको बिहान छ बजेसम्म काम गर्नुपथ्र्यो । त्यसपछि अर्का चालक र सहचालकलाई जिम्मेवारी हस्तान्तरण गर्नुपथ्र्यो । यसरी लगातार २४ घण्टा काम गरेपछि २४ घण्टा आराम गर्न पाइन्थ्यो । प्रत्येक २४ घण्टामा आठ घण्टाको हिसाबले दुईटा हाजिरी र एउटा ओभरटाइम पाइन्थ्यो । मलाई याद भएसम्म त्यति बेला दुई रुपैयाँमा भरपेट खाना पाइन्थ्यो ।

‘बडी मुहजोर बाड सन, हई लइका हो, ना मनब लोगन का तोहनी के ?’ अर्थात् बडो बदमाश छन्, यी बच्चाहरू हो, मान्दैनौ कि क्या हो, तिमीहरू ? ट्याक्टरको डब्बामा उखुमाथि बसेको सहचालकको हातमा छडीको रूपमा उखु हुन्थ्यो । बच्चाहरूलाई धपाउनका लागि छडी लहराउँदै कराइरहनुपथ्र्यो । जति धपाए पनि बच्चाहरू ट्याक्टरको पछिपछि दौडिन्थे । ट्याक्टर अन्तध्र्यान नभएसम्म बच्चाहरूको क्रन्दन गुञ्जित भइरहन्थ्यो । ट्याक्टर वीरगंज चिनी कारखाना नपुगुन्जेलसम्म तनाव हुन्थ्यो । सहचालकको कडा निगरानीका बावजूद केही बच्चाहरू उखु हात पार्न सफल हुन्थे । उहिलेका पुस्ता जो अहिले वयस्क वा वृद्ध भइसकेका छन्, उनीहरूलाई उखुको लागि गरिएका कर्कुत अहिले पनि सम्झनामा होला ।

रसियामा बनेको ‘बेलारस ट्याक्टर’ आकारमा धेरै ठूलो र बलियो थियो । धेरैपछि भारतमा निर्मित हिन्दुस्तान ट्याक्टर भित्रियो । यद्यपि तुलनात्मक हिसाबले बेलारस ट्याक्टर उत्कृष्ट थियो । पर्साको पोखरिया, जगरनाथपुर, दशौंता, सेढवा र श्रीपुर पंचगावाँ तथा बाराको जीतपुर, बघवन, भवानीपुर र जैतापुरलगायतका स्थानमा उखु सङ्कलन केन्द्र अर्थात् काँटा थियो । मेरो जन्मथलो पर्साको सतवरिया (हाल पोखरिया) भए तापनि एक चालकको रूपमा चिनी कारखानामा आबद्ध भई काम गर्न थालेपछि पर्सा र बारा प्रत्येक गाउँ जन्मथलोझैं लाग्थ्यो ।

किनभने पर्सा र बाराका अपवादबाहेक प्रायः गाउँका मानिसहरूले मलाई चिन्थे । किनभने उखुको सिजनभरि पर्सा र बाराका विभिन्न उखु सङ्कलन केन्दहरूबाट दिनहुँ हजारौं मानिसहरू वीरगंज चिनी कारखानाको ट्याक्टरमा चढेर वीरगंज आउँथे । फर्किने बेला वीरगंजको पावर हाउस चोक र गण्डक चोकलगायतका स्थानमा मानिसहरू राति अबेरसम्म ट्याक्टरलाई पर्खिरहन्थे ।

उखु लोड गरी ट्याक्टर लिएर कारखानामा आइपुग्थें । चलान बुझाउँथें । त्यसपछि काँटा हुन्थ्यो र उखु अनलोड हुन्थ्यो । उखु लोड र अनलोड गर्ने कार्य मजदूरहरूले गर्दथे । एकातर्फ वीरगंज आसपासका किसानहरू बलयगाडा वा ट्याक्टरमा उखु लोड गरी सीधैं कारखानामा आउँथे । अर्कोतर्फ विभिन्न सङ्कलन केन्द्रबाट उखु आउने हुनाले अनलोड कार्यमा बढी चाप थियो । त्यस कारण अनलोड कार्यमा ढिलो हुनु स्वाभाविक थियो । केही वर्षपछि किरान आयो । जसले अनलोडको काम छिटोछरितो हुन थाल्यो ।

२५ देखि ३० वटा ट्याक्टर थिए । धेरैपछि दूरदराजबाट उखुको ढुवानी ट्रकबाट हुन थाल्यो । चालक र सहचालक गरी झन्डै दुई सयजना थियौं । वीरगंज चिनी कारखानामा झन्डै २२ सयजनाले प्रत्यक्ष रोजगार पाएका थिए । पर्सादेखि सर्लाहीसम्मका किसानलगायत लाखौंं मानिसहरू आश्रित थिए । वीरगंज चिनी कारखाना बन्द भएपछि रोजगार र उखुखेतीको अस्तित्व मात्र समाप्त भएन, अपितु अर्र्बौंको सम्पत्ति अहिले खण्डहरमा परिणत भइसकेको छ । चिनी कारखानाको पुनर्जीवनप्रति कुनै पनि पक्ष संवेदनशील देखिएन । योभन्दा अचम्मलाग्दो विडम्बना अरू के हुन सक्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here