जिल्ला प्रशासन कार्यालय, पर्सा र मालपोत कार्यालय, पर्सामा जहिले भीडभाड रहन्छ । उक्त कार्यालयमा पुग्ने सेवाग्राहीहरू सेवाभन्दा पहिले मानसिक र शारीरिक यातना सहन गर्न बाध्य छन् । वृद्धवृद्धा वा विकलाङ्गका लागि सेवा लिनुपर्दा त झनै समस्या छ । घण्टौं लाइनमा बसेर निवेदन दर्ता गराउनु, त्यसपछि आफ्नो पालो कहिले आउँला भन्दै झ्यालमा उभिंदाको हैरान छुट्टै छ । फाँटमा बुझाइएका कतिपय सेवाग्राहीको निवेदन फाँटैमा हराउँछ । जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकताको प्रतिलिपिको लागि बुझाएको निवेदन तीनपटकसम्म हराएर चौथोपटक प्रतिलिपि पाएका सेवाग्राहीहरू पनि छन् । कतिपयको प्रतिलिपिको लागि १५ दिनसम्म धाउनुपरेको गुनासो छ । लाइनमा बसेर झ्यालमा पुग्यो, कार्यालय बन्द हुने समय हुन्छ । त्यसपछि भोलि फेरि लाइन लाग्यो । यो क्रम १५ दिनसम्म पनि चलेको छ । प्रतिलिपिको लाइनमा बसेका सेवाग्राहीहरू वाक्कदिक्क भएर मानसिक एवं शारीरिक तनावका कारण लाइनमा नै अचेत भएर लडेका छन् । मालपोत र नापी कार्यालयका प्रायः सबै फाँट साथै जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट, राहदानी, मतदाता नामावली, राष्ट्रिय परिचयपत्र वा जुनसुकै फाँटको पनि अवस्था उस्तै छ ।
सुधारका लागि प्रयास नभएको होइन । सुरक्षाकर्मी खटाएर लाइन राख्ने, काम भइसकेका सेवाग्राहीको नामावली प्रकाशन गर्ने, बार तथा दिन छुट्टयाएर पालिकागतरूपमा सेवा दिने, बिहानी सेवा सञ्चालन गर्नेलगायतका प्रयासहरू भए तर ती कुनै पनि उपायले भीडभाडको समस्या समाधान हुन सकेन । बितेको वर्ष जिल्ला प्रशासन कार्यालय, पर्साको प्रतिलिपि फाँटमा प्रमुख जिल्ला अधिकारी आफैं बसेर सेवा प्रदान गराउँदा पनि भीड साम्य हुन नसकेपछि हार मान्नुपरेको थियो । सेवाग्राहीको चाप कार्यालय तथा कार्यालयमा उपलब्ध जनशक्तिको क्षमताभन्दा बढी भएपछि जुनसुकै उपाय पनि असफल हुन्छ । व्यवस्था परिवर्तन भएर गाउँगाउँमा सिंहदरबारको नारा लागिसक्दा पनि अति आवश्यक सेवाहरू प्राप्तिका लागि सेवाग्राहीहरू प्रताडित भइरहनुपरेको छ ।
सदरमुकाम धाउँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै पोखरियामा सेवा केन्द्र स्थापना गर्न नेपाली काङ्ग्रेसले माग गरेको छ । जनसङ्ख्या वृद्धिसँगै सेवाग्राहीको चाप बढ्दो छ । सेवाप्रदायक कार्यालय भने झन साँघुरिंदै छ । दुई लाख जनसङ्ख्या छँदाका सेवाप्रदायक कार्यालयहरू आज चौगुना जनसङ्ख्या वृद्धि भइसक्दा पनि त्यही अवस्थामा छन् । माओवादी सशस्त्र द्वन्द्वभन्दा पहिले पर्साको पोखरियामा पनि इलाका प्रशासन कार्यालय थियो । पोखरिया र सो आसपासका सेवाग्राहीको नागरिकता साथै सानातिना झैंझगडा एवं मुद्दा मामिलाहरू इलाकाबाटै समाधान गरिन्थ्यो । आज सुपौलीमा जिल्ला प्रशासन कार्यालयको सेवा केन्द्र राखिएको भएपनि त्यसले स्थानीय सेवाग्राहीको समस्या समाधान गर्नेभन्दा थप्ने काम गरेको छ । जिल्ला सदरमुकाममा आउने सेवाग्राहीहरू हतारमा हुन्छन्, किनभने जिल्लाको एकातर्फ छेउमा सदरमुकाम छ । जिल्लाको अर्को छेउदेखि आउने सेवाग्राहीहरू काम सकाएर फर्कने हतारमा हुन्छन् । सेवाग्राहीहरू हतारिने भएको कारण पनि सदरमुकामका सेवाप्रदायक कार्यालयहरूमा भीड बढ्ने गरेको हो । जिल्ला प्रशासन कार्यालयको मातहतमा रहने गरी उपयुक्त स्थानहरू छनोट गरेर सेवा केन्द्र विस्तार गरेमा जिल्लावासीले सहज सेवा प्राप्त गर्न सक्नेछन् ।