प्रस, वीरगंज, २२ पुस/
कलैया उपमहानगर–१९ इनरबारी निवासी १७ वर्षीय युवक राधेश्याम पटेलको गएराति निधन भएको छ । कात्तिक २४ गते छठपूजाको दिन उनीमाथि हमला भएको थियो ।
सोही बेलादेखि पटेलको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेकोमा गएराति उनको मृत्यु भएको हो । छठपूजाको दिन पटेलसहित सुमन साह, बोलबम साह कानूलगायत घाइते भएका थिए ।
घटनामा संलग्न नौजनामाथि बारा प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको र एकजना आरोपित कलैया–१९ इनरबारीका ३० वर्षीय नाजिर हुसेन मियाँलाई जिल्ला अदालत, कलैयाको निर्णय अनुसार पुर्पक्षको लागि बन्दी सुधारगृह वीरगंजमा राखिएको छ ।
बारा प्रहरीका प्रवक्ता प्रनाउ राजेश थापाले फरार आठजनाको खोजी भइरहेको बताएका छन् ।
यसैबीच, पटेलको मृत्युपछि वीरगंज–कलैया सडकखण्डको सिसहनिया चोकमा प्रदर्शन गरिएको छ । घटनाका दोषीलाई आजीवन काराबास, पीडित परिवारलाई क्षतिपूर्तिलगायतका माग गरिएको छ ।