राधेश्याम पटेल, परवानीपुर, २१ पुस/

नेपालमा अफिमको बियाँ उम्रिने खालको पोस्तादाना आयात गरिएको चर्चा चलेसँगै वीरगंजमा फेरि १३ कन्टेनर दुई लाख ३८ हजार किलो अफिमको दाना (बियाँ) अर्थात् पोस्तादाना आइपुगेको छ । नेपालमा पोस्तादाना आयात भइरहेको खबर चलेसँगै आयातकर्ताले नाम परिवर्तन गरी पोस्तादाना मगाउन थालेको पुष्टि भएको छ । पहिले पोस्तादानालाई ‘पप्पी सिड’ भनेर आयात गरिन्थ्यो भने अहिले आयातकर्ताहरूले मव सिड भनेर आयात गरेको भेटिएको छ।

युरोपेली मुलुक टर्कीबाट विशाखापट्टनम बन्दरगाह भएर रेलमार्गबाट १८ हजार किलो (१८ टन) १३ वटा कन्टेनर पोस्तादाना वीरगंज आइपुगेको छ । वीरगंजका व्यवसायी तेजकरण जैन सञ्चालक रहेको काठमाडौं उपत्यकाको कुवेर इक्जिमको नाममा ७ कन्टेनर र निजकै अर्को फर्म धनलक्ष्मी फूडको नाममा ६ कन्टेनर गरी कुल १३ कन्टेनर पोस्तादाना मवसिडको नाममा एक साताअघि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आइपुगेको स्रोतले जनाएको छ ।

टर्कीको इहसानिये, अफ्योन काराहाइजेकस्थितको ‘आस्पा गिडा सानाई टिक एएस’ नामको निर्यातकर्ताले १४ कन्टेनर पोस्तादाना नेपाल पठाएको हो । यसअघि पनि पनि धनलक्ष्मी फूडले मव सिड भनेर आयात गरेको दुर्ई कन्टेनर पोस्तादाना मङ्सिरको अन्तिम साता जाँचपास गराएको थियो । त्यसअघि व्यवसायी जैनकै कुबेर एक्जिमले आयात गरेको चार कन्टेनर अर्थात् ३ करोड ८५ लाख मूल्य बराबरको ७२ हजार किलो पोस्तादाना गैरकानुनी किसिमले छुट्टयाएको भन्सार कर्मचारी स्रोतको भनाइ छ । स्रोतका अनुसार आयातकर्ताले पप्पी सिडको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अनुमति पाए तापनि मव सिड ल्याएर प्रज्ञापनपत्रमा पप्पी सिड भनेर नै जाँचपास गरेको बताएको छ ।

‘आयातकर्ताले जुन सामान आयातको लागि स्वीकृति पाएको हो, त्यही घोषणा गर्नुपर्छ, त्यही नामले जाँचपास हुनुपर्छ,’ भन्सारका एकजना कर्मचारीले भने– तर सबै सेटिङमा काम भइरहेको छ । कसैले नजानून् कि पोस्तादाना आइरहेको छ भनेर पप्पी सिडलाई आयातकर्ताले मव सिड–भारतमा ‘खसखस’ पनि भनिन्छ, त्यो सामान ल्याइएको छ, भन्सार जाँचपासको बेला कर्मचारीले पप्पी सिड नै उल्लेख गरी जाँचपास गरिरहेका छन् ।’ भन्सार ऐन अनुसार यो गैरकानूनी कुरा भएको ती कर्मचारीले बताए ।

१३ कन्टेनरको मूल्य साँढे १६ करोड

पोस्तादाना प्रतिकिलो रु ५ सय ३४ रुपियाँको दरमा खरीद गरिएको आयातकर्ताले प्रज्ञापनपत्रमा घोषणा गरेका छन् । यसको हिसाबले १३ कन्टेनरको २ लाख ३८ हजार किलोको रु १२ करोड पचास लाख पर्न जान्छ । यसमा १० प्रतिशत भन्सार महसूल र त्यसपछि १३ प्रतिशत भ्याट जोड्दा करीब ४ करोड राजस्व बुझाएपछि जाँचपास हुँदा साढे १६ करोड पुग्छ ।

भारतमा तेब्बरी मोलमा बिक्री हुन्छ पोस्तादाना

किलोको रु ५३४ मा खरीद गरिएको पोस्तादाना नेपाल आएपछि भाडा र अन्य खर्च जोडेर किलोको ७ सय पर्न जान्छ । तर अधिकांश पोस्तादाना सीमावर्ती भारतीय बजारबाट तस्करी गराएर दिल्ली पु¥याउने गरिन्छ । वीरगंज नाका र काठमाडौंको त्रिभुवन विमानस्थलबाट यसअघि आयात गरिएको अधिकांश पोस्तादाना भारतीय बजारमैं तस्करी गराएर पु¥याउने काम भइरहेको स्रोतले बताएको छ । केही पोस्तादाना बीउ उमारेर अफिमखेती गर्न पनि राखिएको व्यवसायीको आशङ्का छ । रू ७ सयमा खरीद गरेको पोस्तादाना भारतको दिल्लीमा रु २ हजार प्रतिकिलोमा बिक्री हुने गरेको स्रोतको दाबी छ । भारतमा पोस्तादानाको आयातमा प्रतिबन्ध छ । यहीं कारण ड्राइफुड्स भनेर नेपाल भित्रिने पोस्तादाना नेपालबाट चोरबाटो भारत गइरहेको छ ।

कर्मचारीले नै बनाइदिए लुपहोल

ठूलो परिमाणमा पोस्तादाना भित्रिएको थाहा पाएपछि लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहँदा पनि उम्रिने खालको पोस्तादाना आयात र जाँचपासमा सरकारी पक्ष गम्भीर नरहेको पाइएको छ । अन्तर्राष्ट्रिय कानून उम्रिने खालको पोस्तादाना (बीउँ) आयात गर्नुभन्दा पहिले सङ्युक्त राष्ट सङ्घमा रहेको अफिस अन ड्रग एन्ड क्राइम कार्यालय मातहतको नार्कोटिक्स कन्ट्रोल बोर्डबाट स्वीकृति लिनुपर्ने नियम छ । तर आयातकर्ताले उक्त संस्थाबाट अनुमति नलिएर नै आयात गरिरहेको भन्सार श्रोतको भनाइ छ । नेपालमा लागूऔषध बाहेक कुनै पनि सामान आयात गर्न छुट छ ।

यसै कारण लागूऔषध नियन्त्रण ब्यूरोले आयातकर्तालाई कारबाईको दायरामा ल्याउन प्रशस्त आधार छनन् । तर बिरुवा संरक्षण ऐन २०६४ अनुसार उम्रिने अफिमको दाना पोस्तादाना आयात गर्न नपाइने स्पष्ट व्यवस्था हुदाँहँुदै पनि आयातकर्ताले उक्त नीतिलाई लत्याउँदै आयात गरेको भन्दै सरकारले गैरकानुनी आयातलाई अङ्कुश लगाउँनुको साथै, कारबाई गर्न सक्छ ।

कसरी पत्ता लाग्यो आयातित अफिम दाना उम्रिने रहेछ भनेर ?

वनस्पति विभागको रिपोर्टमा टर्कीबाट नेपाल आयात गरिएको पोस्तादाना खेती गर्न मिल्ने रहेको कागजातका आधारमा यो पुष्टि भएको हो । धनलक्ष्मी फूडले त्रिभुवन विमानस्थलबाट गत चैत ३१ गते आयात गरेको पोस्तादानाको केही बियाँको नमुना परिक्षण गर्दा बियाँ मध्ये ९० प्रतिशत उम्रिन सक्ने भएकोले लागुऔषध नियन्त्रण ब्यूरोलाई अनुसन्धानमा तनाव भएको बताइन्छ । आयातकर्तालाई कारबाई गर्न नपाइने तर अर्को तर्फ उक्त वीउँ यदि ड्राईफूड्समा नभएर अवैध अफिम खेतीमा प्रयोग भयो भने त्यसको परिणाम के होला भनी नेपाली सुरक्षा अधिकारीहरूको दिमागमा चल्न थालेको छ । गत कार्तिक १६ गते विभागले ब्यूरोलाई बुझाएको रिपोर्टमा यी कुरा उल्लेख छन । यसअघि ब्यूरोले केन्द्रीय प्रहरी विधि प्रयोगशाला र वाणिज्य विभाग मातहतको विधि विज्ञान प्रयोगशालामा पोस्तादानाको परिक्षण गर्दा लागुऔषध नभएको पुष्टि भएकोले आयात गर्न मिल्ने ती रिपोर्टहरूले छुट गरेको थियो ।

२ हजार टन स्वीकृतिमध्ये १३ लाख किलो आउन बाँकी

यसअघिको सरकारका उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री लेखराज भट्टले ठुलो आर्थिक चलखेलमा केही व्यवसायीहरूलाई आर्थिक वर्षको अन्तिम समयमा दुईहजार टन पोस्तादाना आयातको स्वीकृति दिन लगाएका थिए । पोस्तादानाको आयातलाई पछिल्ला केही सरकारले बन्द नै राखे पनि पुर्वमन्त्रि भट्टले पुर्वी नेपाल र वीरगंजका व्यवसायीहरूलाई कोटा वितरण गरेका थिए । त्यसमध्ये करिब ७ लाख किलो नेपाल आइसकेको छ । २ लाख ३८ हजार किलो सुक्खाबन्दरगाहमा जाँचपासको क्रममा छ भने करिब ४ लाख ६० हजार किलो पोस्तादाना भन्सार जाँचपास भएर छिरिसकेको छ । कुल २ हजार टन मध्ये सात सय टन आएपछि अब १३ सय टन नेपाल आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here