प्रस, वीरगंज, २० पुस/

मानवसेवा आश्रमले मङ्गलवारदेखि सडक, फूटपाथमा जीवनयापन गर्नेहरूको उद्धार शुरू गरेको छ।

जाडोयाममा कोही पनि सडकमा जीवन नबिताओस् भन्ने उद्देश्यले आश्रमले मेची–महाकाली अभियान शुरू गरेको र सो अभियान अन्तर्गत यस वर्ष वीरगंज क्षेत्रमा केन्द्रीय टोली आउन नसक्दा वीरगंज आश्रमले एक हप्ते अभियान शुरू गरेको आश्रमकी सञ्चालिका सानुमाया सेवाले बताइन्।

उनले गत वर्ष मेची–महाकाली अभियान अन्तर्गत देशभर १३३ जनाको उद्धार गरी आश्रममा राखिएको र यस वर्ष पनि सोही लक्ष्यका साथ मेची–महाकाली अभियान शुरू गरिएको बताइन्। उनले प्राविधिक कारणवश अभियानको टोली वीरगंज आउन नसकेको कारण वीरगंजस्थित मानवसेवा आश्रमले साताव्यापी कार्यक्रमअनुरूप अभियान शुरू गरिएको बताइन्। अभियानको पहिलो दिन वीरगंजस्थित घण्टाघरबाट एकजना ८० वर्षीया वृद्धाको उद्धार गरी आश्रममा राखिएको सानुमायाले बताइन्।

उद्धार कार्यमा श्याम सर्राफ, नेहाल खानले सहयोग गरेका थिए। यसैगरी, आश्रमको टोलीले मङ्गलवार नै वीरगंजदेखि जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रसम्म उद्धार कार्य गरेको सानुमायाले बताइन्। उनले साताव्यापी कार्यक्रममा उद्धार भएकामध्ये ७० जनालाई वीरगंज आश्रममा र त्यसभन्दा बढी भए हेटौंडा आश्रममा राखिने बताइन्। वीरगंजमा ७० जना राख्ने क्षमता भएको र आजसहित ६० जना पुगिसकेको सानुमायाले जानकारी गराएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here