प्रस, वीरगंज, २० पुस/
वीरगंज महानगरपालिकाले जाडोयाममा पाँच हजार ८०५ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने अभियान चलाएको नगरप्रमुख विजयकुमार सरावगीले बताएका छन्।
पुस १७ देखि सञ्चालित यो अभियानमा हालसम्म सातवटा वडाका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा अन्तर्गत कम्बल, टर्च, झुल र छाता उपलब्ध गराएको उनले बताए। महानगरपालिकाले यी सामानहरू टेन्डर आह्वान गरी आपूर्ति गरेको जिन्सी शाखाका निरञ्जन क्षत्रीले बताए। ३२ वटै वडामा रहेका ७० वर्षमाथिका पाँच हजार ८०५ जना ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति रु ९७० पर्ने यी सामानहरू वितरण गरिएको उनले बताएका छन्।