नयाँ दिल्ली, २० पुस/एएनआई

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ। यससँगै भारतमा कोरोना शुरू भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना सङ्क्रमित भएका छन्।

गत २४ घण्टामा भएका सङ्क्रमित मध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरिएन्टबाट सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ। तीमध्ये ७६६ जना भने निको भएका छन्। सोही अवधिमा थप १२४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८२ हजार १७ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

भारतमा अहिले एक लाख ७१ हजार ८३० जना सङ्क्रमित अवस्थामैं छन्। यो सङ्ख्या कुल सङ्क्रमितको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। गएको २४ घण्टामा भारतमा एघार हजार ७ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जना सङ्क्रमणमुक्त भएका छन्। भारतमा कोरोना भाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाइएको छ।

भारतमा कोरोना शुरू भएदेखि हालसम्म ६८ करोड २४ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। सन् २०२१ जनवरी १६ देखि कोरोना भाइरसविरूद्ध खोप अभियान शुरू भएको थियो। सो बेलादेखि हालसम्म एक अर्ब ४६ करोड ७० लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ।

भारतमा १५ देखि १८ वर्ष उमेर समूहलाई खोप लगाइँदै

सिन्ह्वा समाचार समितिका अनुसार भारत सरकारले १५ देखि १८ वर्ष उमेरका युवाहरूलाई कोरोनाविरुद्ध खोप लगाउन शुरू गरेको छ। भारतमा ओमिक्रोनबाट सङ्क्रमित बढ्दै गएपछि सरकारले यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरूले जनाएका छन्। भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्विर सार्वजनिक गरेका थिए।

भारत सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउन अनलाइन दर्ता गर्न माग गरेको थियो। सोही बमोजिम करीब १२ लाख युवाले अनलाइन दर्ता गराएको बताइएको छ। उता भारतको मध्यप्रदेशमा कोरोना भाइरस पछिल्ला दिनहरूमा निकै अनियन्त्रितरूपमा बढिरहेको बताइएको छ। नयाँ सङ्क्रमितहरूको वृद्धि हेर्दा यहाँ कोरोना भाइरसले तेस्रो लहरको सङ्केत दिएको अधिकारीहरूले जनाएका छन्।

भारतको मध्यप्रदेश राज्यमा मात्र सोमवार २२१ जना ओमिक्रोन भेरिएन्टका सङ्क्रमित भेटिएका छन्। एक हप्ता अघि ४२ जना मात्र ओमिक्रोन सङ्क्रमित थिए। गएको सात दिनभित्र नयाँ सङ्क्रमितको सङ्ख्यामा ५०० प्रतिशतले वृद्धि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

यहाँका स्वास्थ्यसम्बन्धी अधिकरीहरूले १० जनवरीदेखि हरेक दिन यस प्रदेशमा एक हजारभन्दा बढी ओमिक्रोनका सङ्क्रमित आउने अनुमान गरिएको बताएका छन्। अहिलेसम्म सरकारले थप प्रतिबन्ध लगाउनेबारे कुनै नयाँ निर्णय गरेको छैन। तर पनि यस विषयमा सरकारले विचार गर्न सक्ने  उनीहरूले जनाएका छन्।

त्यस्तै सिन्ह्वा समाचार एजेन्सीले दिएको समाचार अनुसार दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका सङ्क्रमित बढेको बताइएको छ। यस भाइरसबाट दुई जनाको ज्यान गएको छ। दक्षिण कोरियामा यो भेरिएन्टबाट पहिलोपटक दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ।

यो भेरिएन्ट निकै घातक रहेको र यसबाट पूर्ण सतर्क रहनुपर्ने भनिएकोमा यहाँ पहिलोपटक यी दुईजनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। दक्षिण कोरियामा पनि डिसेम्बरको शुरूतिर यो भेरिएन्ट फेला परेको थियो। गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यस भेरिएन्टबाट ज्यान गएको अधिकारीहरूले जनाएका छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here