प्रस, सर्लाही, १९ पुस/

परीक्षाको मुखमा परीक्षा केन्द्र परिवर्तन भएपछि सर्लाही क्याम्पस, मलङ्गवाका विद्यार्थीहरू आन्दोलित भएका छन्। विगतका वर्षहरूदेखि नै सर्लाही क्याम्पस, मलङ्गवामा कायम गरिएको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र परीक्षा आउन एक दिन मात्र बाँकी रहँदा परीक्षा नियन्त्रण कार्यालयले बरहथवास्थित बहुमुखी क्यम्पसमा सारेपछि सोविरुद्ध विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

परीक्षाको मुखैमा आएर एक्कासि परीक्षा केन्द्र सारिएको भन्दै उनीहरूले आइतवारदेखि शुरू गरेको आन्दोलन सोमवार पनि जारी रह्यो। विद्यार्थीहरूले आइतवार बिहानदेखि क्याम्पसअगाडि नवलपुर–मलङ्गवा सडकखण्डमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरेका थिए। उनीहरूले मलङ्गवा बजारको परिक्रमा गरेका थिए।

त्यसैगरी, आन्दोलनकारी विद्यार्थीहरूले सोमवार मलङ्गवाका सम्पूर्ण  सरकारी सेवाप्रदायक कार्यालय, निजी तथा सरकारी शैक्षिक संस्था र यातायात बन्द गराएका थिए।

जबसम्म आफूहरूको माग पूरा हुँदैन, तबसम्म आन्दोलन जारी रहने आन्दोलनरत विद्यार्थीहरूका अगुवा कैमुल हुसैनले बताए।

यस सम्बन्धमा सर्लाही क्याम्पसका क्याम्पस प्रमुख राजेश यादवले आफूले बरहथवास्थित शुभजनता क्याम्पसबाट मलङ्गवाको प्रश्नपत्र त्यहाँ आएको भन्ने खबर पाएको र परीक्षा केन्द्र सरेको भन्ने जानकारी मौखिकरूपमा आएको बताएका छन्। तर विश्वविद्यालयको वेबसाइटमा मलङ्गवाको परीक्षा केन्द्र सारिएको बारे कुनै जानकारी नराखिएको र लिखितरूपमा पनि क्याम्पस प्रशासनलाई कुनै जानकारी नआएको क्याम्पस प्रमुख यादवले बताए।

अन्तिम समयमा आएर परीक्षा केन्द्र सार्दा विद्यार्थीलाई कोठा खोज्नेलगायतका समस्या आइपर्ने उल्लेख गर्दै क्याम्पस प्रमुख यादवले सोही क्षेत्रका अन्य क्याम्पसमा भने यथास्थान होम सेन्टर नै कायम रहेको तर एउटा क्याम्पसको मात्रै परिवर्तन भएको खबरले आफू आश्चर्यचकित बनेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here