प्रस, वीरगंज, १९ पुस/
नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ, वीरगंज समितिको आयोजनामा अन्तरबैंक सेभेन साइड फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको फाइनल खेलमा कामना विकास बैंक लिमिटेड विजयी भएको छ।
कामना विकास बैंकले सिभिल बैंकलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको थियो। कामना विकास बैंकका जयबहादुर थापाले दुवै गोल गरेका थिए। विजेता कामना विकास बैंकले रु बीस हजार र उपविजेता सिभिल बैंकले रु दश हजार नगद पुरस्कार पाएका थिए। थापा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भई रु २००० नगद पुरस्कार पाए।
प्रतियोगिता अन्तर्गत फेयर प्ले टीम नेपाल बैंक लिमिटेडले रु चार हजार, सर्वाधिक गोलकर्ता कामना विकास बैंकका अरुण महतो, उत्कृष्ट गोलकीपर सिटिजन्स बैंकका प्रदेश प्रमुख दिवससिंह ठकुरी र उत्कृष्ट डिफेन्डर सेन्चुरी बैंकका शिवनाथ साहले जनही रु दुई हजार नगद पुरस्कार पाएका थिए।
फाइनल खेलमा नेपाल राष्ट्र बैंक, वीरगंजका निर्देशक राजनदेव भट्टराईले पुरस्कार वितरण गरेका थिए। नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घ, वीरगंज समितिका अध्यक्ष कृष्णकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा नेराबैंक, वीरगंजका उपनिर्देशक दण्डप्रसाद खरेलसहित वीरगंजस्थित वाणिज्य बैंकका प्रमुखहरूको सहभागिता थियो।