काठमाडौं, १९ पुस/रासस

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको सातौं चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। हिमालयन शेर्पालाई जीत दिलाउन कप्तान विश्वास श्रेष्ठले निर्णायक गोल गरे।

उनले खेलको ४४औं मिनेटमा पेनाल्टीमार्फत गरेको एक गोल नै हिमालयन शेर्पाका लागि निर्णायक गोल साबित भयो। खेलको ४२औं मिनेटमा सातदोबाटोका पिटर सेगुनले पेनाल्टी क्षेत्रमा त्रिदेव गुरुङलाई फाउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले हिमालयन शेर्पालाई पेनाल्टीको अवसर दिएको थियो। जसमा विश्वासले गोल गरे।

यस्तै, खेलको इन्जुरी समयमा सातदोबाटोले पनि पेनाल्टीको अवसर पाएको थियो। तर सातदोबाटोका मार्टिन सिलोले पेनाल्टीमा गोल गर्न सकेनन्। यस जीतसँगै हिमालयन शेर्पाले सात खेलमा ११ अङ्क जोडेको छ। हिमालनय शेर्पा अङ्कतालिकाको पाँचौं स्थानमा उक्लेको छ। यसअघि हिमालयन शेर्पा नवौं स्थानमा रहेको थियो। शेर्पाले सातौं चरणको खेल सकिंदासम्म तीनमा जीत, दुर्ईमा बराबरी र दुर्ईमा हारको नतीजा निकालेको छ।

समान सात खेल नै खेलेको सातदोबाटोको भने आठ अङ्क रहेको छ। पराजित सातदोबाटो अङ्कतालिकाको आठौं स्थानमा झरेको छ। सात खेलमा सातदोबाटोले दुर्ईमा जीत, तीनमा हार तथा दुर्ईमा बराबरीको नतीजा ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here