ओमप्रकाश चौधरी, सेढवा, १९ पुस/

विगत चार दिनदेखि बढेको चीसोको कारण पर्सा जिल्लाको जनजीवन प्रभावित भएको छ।

शीतलहरको कारण बढेको चीसोले  ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरूको पठनपाठन प्रभावित भएको छ। केही सामुदायिक विद्यालयले विद्यार्थीहरूसँग न्यानो कपडा अभाव भएको, चीसोमा खाली खुट्टा विद्यालय आउनुपर्ने समस्याले गर्दा सोमवारदेखि विद्यालय बन्द गरेका छन् भने केही पालिकाहरू विद्यालय बन्द गर्ने तयारीमा छन्।

जीराभवानी गापाका अध्यक्ष रामप्रीत महतोले आइतवार सूचना जारी गर्दै सोमवारदेखि गापा मातहतका बाइसवटा सामुदायिक विद्यालय बन्द गरेका छन्। अध्यक्ष महतोले चीसो बढेपछि विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा अभाव भएर विद्यार्थीहरूको सङ्ख्या पातलिंदै गएपछि चीसोबाट जोगाउन विद्यालय बन्द गरिएको बताए। उनले सूचनामा पुस २४ गतेसम्म गापा अन्तर्गतका सबै सामुदायिक विद्यालय बन्द गरिएको जनाएका छन्।

पटेर्वासुगौली गापाका शिक्षा शाखा प्रमुख शम्भु साहले चार दिनदेखि घाम नलागेको र चीसोले विद्यार्थी सङ्ख्या पचास प्रतिशत घटेको बताए। उनले चीसोको कारण विद्यालय बन्द गर्ने सम्बन्धमा बैठक बसी छलफल हुने बताएका छन्।

ठोरी गापाका नेपाल शिक्षक महासङ्घका अध्यक्ष अमृत श्रेष्ठले पनि पचास प्रतिशत विद्यार्थी सङ्ख्या घटेको बताए। यसैबीच, ठोरी गापाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले सोमवार सूचना प्रकाशित गरी पुस २० मङ्गलवारदेखि २३ गतेसम्म बिदा घोषणा गरेका छन्। ठोरीमा छवटा मावि, पाँचवटा निमावि, पाँचवटा आधारभूतसहित २१ वटा सामुदायिक विद्यालय छन्।

पकाहामैनपुर गापास्थित श्रीराम चरित्र भगत माविका प्रअ छोटेलाल साहले त्रैमासिक परीक्षा चलिरहेकोले विद्यार्थी सङ्ख्या यथावत् रहेको बताए। उनले परीक्षाका कारण विद्यार्थीहरू चीसो बढे पनि आइरहेको जानकारी गराएका छन्। उनले गापाको निर्देशनमा विद्यालय बन्द गर्ने बताए।

यसैबीच, चीसोले ग्रामीण क्षेत्रमा आवागमन पातलिएको छ। अङ्ग्रेजी नयाँ वर्षपछि यहाँका सडकहरूमा सवारी आवागमन र मानिसहरूको चहलपहल कम भएको छ। चीसोबाट जोगिन मानिसहरू घरअगाडि र चोकचोकमा आगो बालेर बसेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here