नितेश कर्ण, वीरगंज, १८ पुस/

गौर नगरपालिकाका नगरप्रमुख अजयकुमार गुप्ताले बाढी र मुद्दाका कारण गौर नगरपालिकाको विकास हुन नसकेको बताएका छन् ।

प्रतीकसँगको कुराकानीमा नगरप्रमुख गुप्ताले रौतहट जिल्लाको असी प्रतिशत भूभाग डुबानमा पर्दै आएको र सबैभन्दा बढी गौर नगरपालिका क्षेत्र डुबानमा पर्ने गरेको बताए । उनले पूर्वाधार निर्माणमा गरिएको लगानीको उपलब्धि बाढीको कारण पनि नदेखिएको बताए । उनले भारत सरकारले सीमा क्षेत्रमा तटबन्ध निर्माण गरेदेखि झनै समस्या भएको बताए । तटबन्धको कारण पानीको निकास थुनिएको र बाढी आएको बेलामा भारत सरकारले गेट खोल्न आनाकानी गरेको नगरप्रमुख गुप्ताले बताए ।

भारतीय पक्षले नदीमा गेट लगाएको र गौर डुबानमा पर्दा भारतीय अधिकारीलाई फोन गर्दा उनीहरूले अटेर गरी गेट नखोल्ने गरेको उनको आरोप छ । गौर नपाको पश्चिममा लालबकैया र पूर्वमा बागमती तथा बीचमा झाझ खोला छ । गौर डुबानमा परेको कुरा नौलो होइन तर पहिले बाढी आउँदा डुबानमा पर्ने र लगत्तै डुबानमुक्त हुने गरेको कारण किसानहरूलाई फाइदा थियो ।

उनीहरूको खेतमा पर्याप्त पानी पुग्दा उत्पादन वृद्धि हुन्थ्यो तर अहिले भारतले सीमामा तटबन्ध बनाएपछि पानीको उचित निकास नहुँदा लामो समयसम्म खेत डुबानमा पर्ने र बाली बिग्रिएर उत्पादन घटेको नगरप्रमुख गुप्ताको भनाइ छ । तटबन्धसम्बन्धी समस्याको समाधान केन्द्र र प्रदेश सरकारको पहलमा हुनुपर्ने उनले बताए । खासगरी प्रदेश सरकारले केन्द्र सरकारलाई यसबारे ध्यानाकर्षण गराउनुपर्ने र केन्द्र सरकारले पहल गरेमा यो समस्या समाधान हुने नगरप्रमुख गुप्ताले बताए ।

बाढीसँगै गौरको विकास कार्यमा मुद्दा पर्ने गरेको हुँदा पनि समस्याको रूपमा देखिएको उनले बताए । बाटो, नालालगायतका विकास निर्माण कार्य गर्दा नगरवासीले अदालतमा मुद्दा दिने गरेका कारण पनि विकासमा बाधा उत्पन्न भइरहेको उनले बताए । उनले यी बाधाका बीच पनि सडक, नालाको निर्माण कार्य भइरहेको बताए ।

नगरप्रमुख गुप्ताले सडक, नालाको विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि गौर नपाले फड्को मारेको दाबी गरे । उनले जिल्ला अस्पतालको अवस्था सुधार्न आफू नगरप्रमुखमा निर्वाचित भएलगत्तै अस्पताललाई दश लाख रुपैयाँ प्रदान गरेको र निरन्तर सहयोग गर्दै आएको बताए । यसैगरी, स्थानीय तहको निर्वाचनपछि जिल्ला अस्पताल र शहरी स्वास्थ्य केन्द्र मात्र नपामा रहेको र अहिले विस्तार गरेर नौवटै वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको र औषधिसमेतको निश्शुल्क सेवा प्रदान गर्दै आएको उनले बताए ।

स्वास्थ्यसँगै शिक्षाको विकासमा पनि गौरले फड्को मारेको उनको भनाइ छ । नगरप्रमुख गुप्ताले जनप्रतिनिधिविहीन अवस्थामा बीस वर्ष काम नभएको र अहिले आफूले चार वर्षमा ठूलो उपलब्धि हासिल गरेको दाबी गरे । उनले बीस वर्षमा नभएको काम आफ्नो चार वर्षे कार्यकालमा भएको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here