प्रस, ठोरी, १८ पुस/
अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ठोरी गाउँपालिका–४ मानेचोकका युवाहरूले यसपटक पिकनिक नगरी स्थानीय वृद्धाश्रम र असहाय कल्याण समाजका आश्रितहरूलाई खाद्यान्न सहयोग गरेका छन् ।
यसअघि पिकनिक आयोजना गरेर नयाँ वर्षको स्वागत गर्दै आएकोमा यस वर्ष पिकनिकको खर्च वृद्धवृद्धा र असहायहरूमा खर्च गरेको मानेचोकका युवा विकाश दोङले बताए । असहाय समाज कल्याण, भगवाननगरमा पुगेर युवाहरूले पाँच बोरा चामल, दश किलो दाल, दश लिटर खानेतेल सहयोग गरेका थिए ।
युवा नेता दोङले यसअघि रमाइलो गरेर उत्सव गरेको अनुभूति भएपनि यस वर्ष फरक ढङ्गबाट नयाँ वर्ष मनाउने कुरामा आफूलगायत युवाहरू सहमत भएकाले वृद्धवृद्धा, असहायहरूलाई सहयोग गरिएको बताए ।
खाद्यान्न वितरण कार्यक्रममा असहाय कल्याण समितिका अध्यक्ष आसबहादुर गुरुङ, मानेचोकका युवाहरू बुद्धलाल पाख्रिन, पेम्पा लामा, फुर्वा दोङ, पूर्ण लामा, पञ्चलाल पाख्रिन, सुकलाल पाख्रिन, अजय पाख्रिन, करण पाख्रिन, सागर दोङ, पार्वती तामाङलगायतको सहभागिता थियो ।