काठमाडौं, १८ पुस/रासस
शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताको साबिक विजेता मछिन्द्र फूटबल क्लबले एएफसी कप छनोट खेल्ने भएको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलको शीर्ष स्थानमा उक्लिएसँगै मछिन्द्रले सो छनोट खेल्ने पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जीतमा सुनील बल नायक बने । उनले खेलको २१औं मिनेटमा निर्णायक गोल गरेका थिए । बलले विशाल राईको फ्री–किकमा हेडमार्फत गोल गरेका थिए ।
जीतसँगै मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने तय गरेको हो । मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो । अखिल नेपाल फूटबल सङ्घ (एन्फा)को ७औं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउने प्रस्तावलाई एसियाली फूटबल महासङ्घ (एएफसी)ले स्वीकार गरेको थियो ।
त्यसैअनुरूप मछिन्द्र छनोट भएको हो । अघिल्लोपटक क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले एएफसी कपको छनोट खेल्न पाएको थिएन । गत वर्ष नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सो छनोट खेलेको थियो ।
जीतपछि मछिन्द्रले सात खेलमा १७ अङ्क जोडेको छ । त्यस्तै, समान खेल खेलेको मनाङ मस्र्याङ्दी क्लब १६ अङ्कका साथ दोस्रो स्थानमा छ । सात खेल नै खेलेको पुलिस ६ अङ्कका साथ ११औं स्थानमा छ ।