प्रस, निजगढ, १८ पुस/
अब हामी सहजै बलात्कार, हिंसा जस्ता दुव्र्यवहार र जघन्य घटनाबाट सहजै जोगिन सक्छौं । एकजना १४–१५ वर्षकी किशोरीले मञ्चमा भनिन् । उनी जस्तै करीब ४१ जना किशोरीले पनि पालैपालो उनको भनाइमा सहमति जनाए ।
उनको भनाइ झट्ट सुन्दा ख्यालख्याल र भनाइमा मात्र सीमित हो कि भन्ने सुन्नेहरूलाई लाग्नु अस्वाभाविक भने थिएन । जब किशोरीहरूको केही समूहलाई प्रशिक्षकले पालैपालो आत्मरक्षाका कला कौशल प्रस्तुत गर्न निर्देशन गरिन्, तब त्यस किशोरीको भनाइलाई पत्याउन करै लाग्यो ।
किशोरी, महिलाहरूमाथि दुव्र्यवहार हेराइ र शारीरिक दुवै रूपबाट हुन सक्ने भन्दै यसबाट आफूलाई सुरक्षित राख्न सकिने सीप नेपाल सेल्फ डिफेन्स सङ्घकी वरिष्ठ प्रशिक्षक राधिका ऐहिर र सञ्जु महर्जनले बताए ।
तालीममा सहभागीहरूले किशोरी आधारभूत आत्मरक्षासम्बन्धी पाँच दिने तालीमबाट अब आफूहरू सुरक्षित रहन सक्ने भन्दै कार्यक्रम आयोजक निजगढ नगरपालिकालाई धन्यवाद दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरका प्रमुख सुरेशकुमार खनालले महिला हिंसासम्बन्धी घटनाहरू दिन प्रतिदिन समाजमा बढिरहेको र बढी दुव्र्यवहारमा विद्यालयका नानीहरू पर्ने गरेका बताए । आत्मरक्षा कौशल अन्य साथीभाइ, घरछिमेकका दिदीबहिनीलाई पनि सिकाउन सहभागी किशोरीहरूलाई उनले आग्रह गरे ।
कार्यक्रममा विशिष्ट अतिथि निजगढ नगरकी उपप्रमुख लीलादेवी लामिछानेले किशोरी तथा महिलाहरूलाई सुरक्षित महसूस गराउन यस्ता खाले तालीमको आवश्यकता महसूस गरी थोरै समयमा आत्मरक्षासम्बन्धी सीप सिकेकामा सहभागी किशोरी र प्रशिक्षकहरूलाई धन्यवाद दिइन् । दिदीबहिनीहरू सुरक्षित हुने खालका यस्ता आत्मरक्षा कौशलका तालीम ल्याउन आगामी दिनमा पहल गर्ने बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले अन्य विकास कार्यका अलावा नगरका आम नागरिकमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, त्यसमाथि पनि किशोरी उमेर र महिलाहरूले आफू सुरक्षित महसूस गर्न पनि यस तालीमले महŒवपूर्ण भूमिका खेलेको बताए ।
उनले बालबालिका, महिलाहरूको आत्मसम्मान हुनेगरी अन्तर्राष्ट्रिय सन्धिहरूमा समेत नेपालले हस्ताक्षर गरिसकेको बताउँदै कुनै बेला आफूहरूमाथि यस्ता खाले दुव्र्यवहार भए नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महिला विकास शाखा र नजीकैको प्रहरी कार्यालय वा सुरक्षा निकायमा सम्पर्क गर्न पनि आग्रह गरे ।
तालीममा निजगढ नगरका नौवटा माविबाट ३६ जना र बाल सञ्जालबाट पाँचजना गरी ४१ जना किशोरी सहभागी थिए । तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
समापन कार्यक्रममा स्थानीय प्रहरी प्रमुख, विद्यालयका शिक्षक, शिक्षिका, पत्रकारलगायतको सहभागिता थियो । निजगढ नपाको ५ लाख आर्थिक सहयोगमा गरिएको सो कार्यक्रममा स्वागत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महिला विकास निरीक्षक मेनका खड्का र कार्यक्रम सञ्चालन रोजी श्रेष्ठले गरेका थिए ।