प्रस, परवानीपुर, १६ पुस/
बिहीवारदेखि वीरगंज आसपासमा विद्युत् आपूर्ति असहज बनेको छ । परवानीपुर–वीरगंज ६६ केभी (६६ हजार भोल्ट)को प्रसारण लाइनको लत्रेको तार तान्ने र पुरानो तार फेर्ने काम भइरहेकोले वीरगंज क्षेत्रमा दुई दिनदेखि लाइन काट्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगंजले जनाएको छ ।
केन्द्र प्रमुख जितेन्द्र झाका अनुसार परवानीपुर–वीरगंजको प्रसारण लाइनको करीब सात किलोमिटर लम्बाइमा प्रसारण लाइनको तल विभिन्न ठाउँमा सडक र घर निर्माण भइसकेको र लत्रेको तार व्यवस्थित गर्न कार्यालयमा दर्जनौं निवेदन परेकोले सो क्षेत्रमा मरम्मत भइरहेको उनले बताए ।
परवानीपुर–वीरगंजका सो¥हवटा टावरमध्ये पाँचवटा टावरको शनिवारसम्म तीन दिनमा काम सम्पन्न गर्ने र पुरानो तार फेरेर हाइटेम्प्रेचर लो–स्याग (एचटिएलएस) तार जडान गर्ने काम भइरहेको उनले बताए । ढल्केवरबाट परवानीपुर सब–स्टेशन आएर परवानीपुर सबस्टेशनबाट वीरगंजसम्म पुरानो प्रसारण लाइनको संरचनाबाट ८० मेगावाट बिजुली आयात गर्न सकिने क्षमता रहेकोमा प्रसारण लाइनको १६ वटा टावर र तार फेर्ने काम सम्पन्न भएपछि वीरगंज क्षेत्रमा थप ६० मेगावाट थपेर कुल १४० मेगावट बिजुली आपूर्ति गर्न सकिने वितरण केन्द्रको अनुमान छ ।
परवानीपुर–वीरगंज प्रसारण लाइनबाट बिजुली अवरूद्ध भएपछि वीरगंज वितरण केन्द्र मातहत रहेका १२ वटा फिडरमध्ये ३ वटा औद्योगिक फिडरको लाइन पूर्णरूपमा तीन दिनसम्म काटिएको छ भने बाँकी ९ वटा ग्रामीण फिडरमा आंशिक विद्युत् आपूर्ति भइरहेको छ ।
रक्सौल–वीरगंज प्रसारण लाइनबाट दैनिक १२ मेगावाट विद्युत् खरीद गरी ग्रामीण फिडरको घरायसी प्रयोजनको बिजुली उपभोगको व्यवस्था मिलाइएको केन्द्र प्रमुख झाले स्पष्ट पारे ।
नेपालमा बिजुली उत्पादन बढेसँगै रक्सौल–वीरगंज प्रसारण लाइनबाट बिजुली ६ महीनादेखि खरीद गरिएको थिएन । तर प्रसारण लाइन मरम्मत सम्भार भइरहेकोले विशेषगरी राति र बिहान ९ वटा फिडरले आलोपालो रक्सौलबाट बिजुली किनेर आपूर्ति मिलाइएको उनले बताए । रक्सौल–वीरगंज प्रसारण लाइनको तार पुरानो भएकोले १२ मेगावाटभन्दा बढी ल्याउन नसकिने अवस्था छ ।