प्रस, परवानीपुर, १६ पुस/
परवानीपुर बजारलाई व्यवस्थित पार्ने उद्देश्यले परवानीपुर गाउँपालिकाको रु २ करोड ३० लाखमा ४८ वटा शटर भएको पक्की भवन निर्माण भइरहेको छ ।
करीब दुई बिघा क्षेत्रफलमा फैलिएको परवानीपुर बजार व्यवस्थित हुन नसक्दा लामो समयदेखि स्थानीय उपभोक्तालाई समस्या खेप्नुपरेको थियो भने परवानीपुर बजारभन्दा पुराना बजारहरूको विकास भइसकेको तर परवानीपुर बजार अहिले पनि अव्यवस्थित तरीकाबाट सञ्चालन भइरहेको छ ।
वर्षात्मा हिलो र गर्मीमा धूलोले पसले तथा ग्राहकहरूलाई समस्या हुने गरेको थियो । २०७६/०७७ सालमा गापाले निकासा गरेको रु ५५ लाख, २०७७/०७८ को ५५ लाख र चालू आव २०७८/०७९ मा १ करोड २० लाख गरी कुल २ करोड ३० लाख बजेट विनियोजन गरिएको परवानीपुर गापाका कार्यपालिका सदस्य सन्जु साहले जानकारी गराए ।
४८ वटा शटरमध्ये २४ वटा शटर निर्माण भइसकेको र छतमाथि २४ वटा शटर निर्माणको काम आगामी एक वर्षभित्र सम्पन्न गर्ने गरी दुईवटा उपभोक्ता समितिमार्फत काम भइरहेको उनले स्पष्ट पारे । एउटा उपभोक्ता समितिको अध्यक्ष लिपनीका महेन्द्रराय यादव र अर्को उपभोक्ता समितिको अध्यक्षमा मुकेश रौनियार छन् । दुवैजना लोसपाका कार्यकर्ता हुन् ।
अहिले परवानीपुर बजारको पूर्वतिरको जग्गामा पूर्वपट्टि १२ वटा शटर र त्योसँगै टाँसिएको पश्चिमपट्टि १२ वटा गरी २४ वटा शटर पसल राख्ने भएको छ । त्यसपछि बजारको दक्षिण, उत्तर र पश्चिमपट्टि पर्खाल लगाएर पसल राख्न शटर निर्माण गर्ने लक्ष्य छ ।
२ करोड ३० लाखमध्ये हाल करीब एक करोडको हाराहारीमा बजेट खर्च भइसकेको बताइएको छ।