प्रस, वीरगंज, १५ पुस/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले नगरसभाबाट पारित योजना अनुसार नै काम भएको दाबी गरेका छन् । बिहीवारदेखि शुरू भएको दशौं नगरसभाको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले सबै योजना नगरसभाले पारित गरे अनुसार नै भएको कुरामा विश्वस्त हुन आग्रह गरे ।
उनले महानगरमा अहिले पनि ठूला योजनाहरू पाइपलाइनमा रहेको तर सङ्घ र प्रदेश सरकारले सहयोग नगरेको आरोप लगाए । उनले दुवै तहका सरकारबाट आवश्यक सहयोग प्राप्त नहुँदा योजनाहरू कार्यान्वयनमा ढिला भएको बताए ।
नगरप्रमुख सरावगीले भेडाहा खोलाको तटबन्ध निर्माण, रामराजा पुलनजीक विद्युतीय शवगृह निर्माण, ठाकुर राम बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउने, वीरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने कार्यमा महानगरपालिकाले काम गरिरहेको बताए । उनले भारत सरकारको सहयोगमा ठाराब क्याम्पसको भवन निर्माण र पुरानो बसपार्कमा रु चार करोडको योजना सञ्चालनको तयारी भइरहेको जानकारी गराएका थिए ।
यसअघि नगरसभामा जनप्रतिनिधिहरूले आफ्नो कार्यकालको अन्तिम समय रहेको र यसमा कामको समीक्षा हुनुपर्ने बताएका थिए । उनले वीरगंजमा पहिले र अहिले भएका परिवर्तन र जनप्रतिनिधिहरूले गरेको कामको लेखाजोखा आम जनताले गरिरहेको बताए ।
जनप्रतिनिधिहरूले जनताको काम गर्न नसकेको अवस्थामा पुनः उनीहरूसँग कुन मुखले मत माग्न जाने भनी चिन्ता व्यक्त गरेका थिए । जनप्रतिनिधिहरूले अति महŒवका विषयहरू सडक, सरसफाइ जस्ता कार्यमा महानगरले ठोस कार्य गर्न नसकेको आरोप लगाए । उनीहरूले अनावश्यक काममा बजेट खर्च भइरहेको तर आवश्यक कामहरू भने नगरिएको दोषारोपण लगाए ।
वीरगंजमा डुबान समस्या यथावत् रहेको, रजतजयन्ती चोकमा लामो समयदेखि सडक बिग्रिएको जस्ता कार्यहरूको चार वर्षमा समाधान नगरिएको बताए । जनप्रतिनिधिहरूले राज्यले दिएको सेवा, सुविधाबाहेक आफूहरूले केही नलिएको तर बजारमा जनप्रतिनिधिहरूबारे नकारात्मक प्रचारबाजी भइरहेको बताए । उनीहरूले महानगरपालिकाले जनभावनाविपरीत काम गरेको आरोप पनि लगाए ।
पुरानै शैलीमा गुणस्तरहीन र एउटै कार्य पटक–पटक भइरहेको बताउँदै उनीहरूले जनता महानगरको विकास कार्यबाट सन्तुष्ट नभएको आरोप लगाएका थिए ।
सडक, नाला, खानेपानी, विद्यालय निर्माणजस्ता कार्यमा बर्सेनि अर्बौं खर्च भएको तर सोको प्रतिफल महानगरवासीले देख्न नपाएको बताए । गुणस्तरहीन कामका कारण महानगरपालिका आलोचनामुक्त हुन नसकेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा उपप्रमुख शान्ति कार्की, कार्यपालिका सदस्य अरविन्द गुप्ता, सुरज कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।