प्रस, सिम्रौनगढ, १४ पुस/

जनमत पार्टीले घोषणा गरेको बन्द आह्वानले जिल्ला आंशिकरूपमा प्रभावित भएको छ । जनमतको बन्दको प्रभाव गौर बजारमा नदेखिए पनि यातायात क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको थियो ।

रौतहटबाट लामो दूरीका सवारीसाधन नचले पनि व्यक्तिगत सवारीसाधनहरू सञ्चालन भएका थिए । पार्टीका कार्यकर्ताहरूले बुधवार बिहानदेखि नै जिल्लाका केही चोकमा टायर बालेर प्रर्दशन गरेका थिए । सदरमुकाम गौरका सरकारी कार्यालय, बैंक, विद्यालयहरू भने सञ्चालनमा थिए । जनमत पार्टीका पाँचजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, रौतहटले नियन्त्रणमा लिएको जनाएको छ ।

बिहानदेखि परिरहेको वर्षाका कारण पनि आन्दोलनकारीको उपस्थिति न्यून देखिएको थियो । किसानहरूको समस्या समाधानलगायत छ बुँदे मागप्रति सरकार गम्भीर नभएको भन्दै जनमत पार्टीले मधेसका विभिन्न जिल्लामा आन्दोलन र बन्द–हडताल घोषणा गर्दै आइरहेको छ ।

बन्दको पूर्वसन्ध्यामा मङ्गलवार साँझ गौर, गरुडालगायत जिल्लाका विभिन्न स्थानमा जनमत पार्टीका नेता, कार्यकर्ताले मशाल जुलुस प्रदर्शन गरेका थिए । जनमत पार्टीका केन्द्रीय नेता ललित मल्लिकले किसानहरूको समस्याप्रति राज्य संवेदनशील नभएकोले आफूहरूले आन्दोलन गर्नुपरेको बताएका छन् ।

यसैबीच बाराको सिम्रौनगढमा पनि बुधवार जनमत पार्टीले विरोध जुलुस प्रदर्शन गरेको छ । किसान आन्दोलन जिन्दाबाद, किसानलाई मलखाद, बीउ व्यवस्था गर, सिंचाइको व्यवस्था गर, बालीको उचित मूल्य कायमलगायतका नाराहरू लगाउँदै सिम्रौनगढ पावर हाउसबाट शुरू भएको विरोध जुलुसले सिम्रौनगढ बजार परिक्रमा गरेको थियो ।

सो क्रममा केहीबेर पसलहरू बन्द भएका थिए । जुलुसको नेतृत्व जनमत पार्टी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष आरके राउत र जनमत पार्टी, बाराका सहसचिव लक्ष्मीकान्त गुप्ताले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here