प्रस, निजगढ, १४ पुस/

निजगढमा किशोरी आधारभूत आत्मरक्षासम्बन्धी पाँच दिने तालीम बुधवार शुरू भएको छ । कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरका प्रमुख सुरेशकुमार खनालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख खनालले महिला हिंसासम्बन्धी घटनाहरू दिन प्रतिदिन समाजमा बढिरहेकाले यसको पहिलो शिकार किशोरी तथा महिला त्यसमाथि पनि स्कूले विद्यार्थीहरू पर्ने गरेको बताए । आत्मरक्षा भन्ने बित्तिकै आफ्नो सुरक्षा भन्ने सहज अर्थ लाग्ने बताउँदै उनले तालीमबाट सक्दो ज्ञान, सीप हासिल गर्नसमेत सहभागीहरूलाई आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि उपप्रमुख लीलादेवी लामिछानेले निजगढ नगरका किशोरी तथा महिलाहरूलाई सुरक्षित महसूस गर्न यस्ता खाले तालीमको बेलाबखत आयोजना गरिरहनुपर्ने बताउँदै ज्ञान, सीपको सही सदुपयोग गर्नसमेत आग्रह गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले अन्य विकास कार्यका अलावा नगरका आम नागरिकमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने त्यसमाथि पनि किशोरी उमेर र महिलाहरूले आफू सुरक्षित महसूस गर्न पनि यस तालीमले महŒवपूर्ण अर्थ राख्ने बताए ।

कार्यक्रममा नेपाल सेल्फ डिफेन्स सङ्घका वरिष्ठ प्रशिक्षिका राधिका ऐरले विना कुनै हातहतियार आफू कसरी सुरक्षित हुन सकिन्छ भन्ने कुराको ज्ञान र सीप यस तालीमबाट प्राप्त हुने बताइन् ।

यस तालीमको प्रशिक्षकमा नेपाल सेल्फ डिफेन्स सङ्घका वरिष्ठ प्रशिक्षक राधिका ऐर र सञ्जु महर्जन रहेका छन् । सो तालीममा निजगढ नगरका ९ वटा माविबाट ३६ जना र बाल सञ्जालबाट पाँचजना गरी ४१ जना किशोरी सहभागी छन् ।

कार्यक्रममा स्थानीय प्रहरी प्रमुख, विद्यालयका शिक्षकशिक्षिका, पत्रकारलगायतको सहभागिता थियो । निजगढ नपाको पाँच लाख आर्थिक सहयोगमा गरिएको सो कार्यक्रममा स्वागत महिला बालबालिका तथा ज्येष्ठ नागरिक महिला विकास निरीक्षक मेनका खड्का र कार्यक्रम सञ्चालन रोजी श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here