• सञ्जय साह मित्र

अहिले शिक्षक सेवा आयोगले नेपालमा शिक्षकको लागि विज्ञापन गरेको छ । शिक्षकको विज्ञापन गरेको छ भन्नुको तात्पर्य रिक्त रहेको शिक्षक दरबन्दी पूरा गर्ने प्रक्रियाको शुरूआत गरेको छ । यसलाई सुखद मान्नु उचित हुन्छ ।

विभिन्न सेवा आयोगहरूले विज्ञापन गरिरहेका हुन्छन् तर शिक्षक सेवा आयोगको विज्ञापन भने समयबद्ध तरीकाले भइरहेको हुँदैन । यसले गर्दा शिक्षक जहिले पनि विद्यालयमा अपुग भइरहन्छ । हरेक वर्ष जति शिक्षक सेवा निवृत्त हुन्छन् वा विभिन्न कारणले पेशाबाट पलायन हुन्छन्, त्यस अनुपातमा हरेक वर्ष विज्ञापन हुँदैन । यसले गर्दा शिक्षक दरबन्दी खाली भइरहने र शिक्षक आपूर्ति नहुँदा विद्यालयमा शिक्षकको सङ्ख्या कम भइरहने हुन्छ । उसै त शिक्षक र विद्यार्थीको अनुपात नमिलेको हाम्रो समाजमा शिक्षकहरू सेवा निवृत्त हुँदै जाँदा कैयौं वर्षसम्म दरबन्दी खाली भइरहने समस्या हुने गरेको यथार्थ छ ।

यद्यपि विज्ञापन हुनेबित्तिकै शिक्षा क्षेत्रका कर्मशीलहरू धेरै खुशी हुनु आवश्यक छैन । देश अहिले निर्वाचनतिर जान लागेको आभास भइरहेको छ । स्थानीय तहको निर्वाचन वैशाखमा हुने कुरा सार्वजनिक भइसकेको छ । तिथि तोकिएको छैन । सरकारले यस विषयमा फैसला गर्ने कुरो आइरहेको छ । यस अवस्थामा अहिले जसरी विज्ञापन प्रकाशित भएर परीक्षा हुने तिथि निर्धारण गरिएको छ, यदि सोही आसपास सरकारले स्थानीय तह निर्वाचनको तिथि घोषणा ग¥यो भने शिक्षक आपूर्ति परीक्षाको तिथि सर्न सक्छ । विगतमा के देखिएको छ भने शिक्षकको लागि लिइएको परीक्षाको नतीजा परीक्षा लिएको नौ वर्षपछि प्रकाशन भएको छ । नतीजा प्रकाशन भएपछि नियुक्ति पाएर शिक्षक विद्यालयमा पुग्न पनि छ महीनाभन्दा बढी समय लागिहाल्छ ।

अहिले परीक्षाको मोडेल परिवर्तन भएको छ । पहिले लिखित हुन्थ्यो र लिखित पास गरेपछि मौखिक परीक्षा हुन्थ्यो । अहिले लिखित परीक्षाको मोडेल परिवर्तन भएर प्रारम्भिक परीक्षा हुन्छ । प्रारम्भिक परीक्षामा ती मात्र सहभागी हुन पाउँछन् जो पहिले शिक्षक सेवा आयोगको परीक्षा पास गरेर अध्यापन अनुमतिपत्र प्राप्त गरिसकेका छन् । स्थायी अध्यापन अनुमतिपत्र नहुनेले शिक्षकको विज्ञापनमा सहभागी हुने मौका पाउँदैन । अहिले यो अनिवार्य नै बनेको छ । प्रारम्भिक परीक्षा उत्तीर्ण भएपछि अर्को परीक्षा हुन्छ, जसलाई विषयगत परीक्षा भन्न सकिन्छ। विषयगत परीक्षा उत्तीर्ण गरेपछि बल्ल मौखिक परीक्षा हुन्छ ।

धेरै समयदेखि शिक्षकको विज्ञापन खुलेको थिएन । यसकारण धेरै सिट खुलेको छ । धेरै सिटमा विज्ञापन हुँदा हालका केही वर्षमा शिक्षक लाइसेन्सको परीक्षा भएको छैन । यसकारण अहिले शिक्षकको विज्ञापनमा आवेदन दिनेहरूमध्ये अधिकांश पुरानै लाइसेन्सधारी हुनुपर्छ । यसको अर्थ यो पनि हो कि धेरै अनुभवीहरूले अहिले परीक्षा दिनुपर्ने समय आएको छ । प्राथमिक तहमा कार्यरत शिक्षकले निम्न माध्यमिक र माध्यमिक तहमा तथा निम्न माध्यमिक तहमा कार्यरत शिक्षक माध्यमिक तहमा जान खुला विज्ञापनको परीक्षामा सहभागी हुनेछन् ।

यसैगरी शिक्षण लाइसेन्स लिएका र राहत वा करार दरबन्दीमा कार्यरत शिक्षकहरूले पनि सम्भव भएसम्म सबै विज्ञापनमा फाराम भर्नेछन् । भर्ने काम गरिरहेका पनि छन् । संस्थागत विद्यालयमा काम गरिरहेका र लाइसेन्स लिएका शिक्षकहरू पनि अहिलेको विज्ञापनलाई धेरै लामो समयदेखि कुरेर बसेका थिए । कतै पनि नअल्झेका पूर्णरूपले बेरोजगारी युवक चाहिं कमै होलान् जो यस विज्ञापनको तयारी गरिरहेका छन् किनभने समाजमा आइएड, बिएड गरेका यस्ता धेरै पात्र भेटिन्छन् जसले यो दुःखेसो पोखिरहेका छन् कि अध्यापन अनुमतिपत्र छैन । यसको अभावमा ती शिक्षकको उम्मेदवार हुन पाउँदैनन् ।

हुन त शिक्षक सेवा आयोगले सबै तहको स्थायी अध्यापन अनुमतिपत्रको लागि आवेदन खुला गर्ने भएको छ । अहिलेको कार्यसूचीमा यो परेको देखिन्छ । यसबाट आइएड र बिएड गरेका धेरै युवामा उत्साह थपिएको देखिएको छ । कपितयले त यो समाचार थाहा पाएलगत्तै तयारीमा जुटेका छन्, कतिपय चाहिं तयारी मानसिकतामा छन् । बजारमा अध्यापन अनुमतिपत्रको तयारीको लागि बनाइएको पुस्तक पर्याप्त मात्रामा देखिन थालेको छ । तीनै तहको विज्ञापन खुलिसकेको अवस्थामा शिक्षकको परीक्षाको लागि तयारी पुस्तकको त बजारमा भरमार छँदैछ ।

अहिले जुन र जति पदको लागि विज्ञापन भएको छ, यसले समयमैं परीक्षा सम्पन्न भएर नियुक्तिसम्मको यात्रा पनि समयमैं पूरा गर्छ भने यसलाई सुखद मान्नुपर्दछ । शिक्षा क्षेत्रमा मुख्यगरी विद्यालयमा शिक्षकको जुनरूपमा अभाव देखिएको छ, त्यसमा केही हदसम्म भए पनि यसले सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ । हुन त देशमा जति दरबन्दी खाली छ, ती सबैमा विज्ञापन भएको छ । यो सुखद कुन अर्थमा हो भने नियुक्तिपछि दरबन्दी रिक्त रहने छैन। दरबन्दी कमी हुनु एउटा समस्या हो भने दरबन्दी रिक्त रहनु अर्को समस्या हो । दरबन्दी रिक्त रहँदा शिक्षकको अभावमा विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित हुन्छन् भने दरबन्दीकै अभाव वा कमी रहँदा प्रयास गरिनुपर्छ । हुन त मुख्यगरी तराई–मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नै ज्यादै न्यून छ ।

शिक्षक दरबन्दी न्यून हुनु र शिक्षक दरबन्दी रिक्त हुँदा समयमा नियुक्त गर्ने परिपाटी नहुनाले एउटा ठूलो ग्याप सिर्जना भएको छ । यस ग्यापले विद्यार्थीको शिक्षण सिकाइमा गम्भीर प्रभाव परिरहेको हुन्छ । यस अर्थमा नै रिक्त दरबन्दीका लागि स्थायी परिपूर्ति गर्ने विज्ञापन खुल्नु सुखद पक्ष हो भनिएको हो । यसबाट नियुक्त भएर आउने शिक्षकले विद्यालयमा आफ्नो उपस्थिति जनाउन थालेपछि शिक्षक अभावको समस्या केही हदसम्म सम्बोधन हुने देखिन्छ । विद्यार्थीको सिक्न पाउने अधिकारमा केही प्रगति हुने सकारात्मक आशा गर्न सकिन्छ । र यो विश्वास लिन सकिन्छ कि अहिलेको विज्ञापनबाट नियुक्त हुने शिक्षक गुणस्तरयुक्त पनि हुनेछ ।

तराई–मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नै छैन । यो समस्या सबै तहको सरकारलाई थाहा छ । अहिले तीन तहको सरकार रहेको छ । सङ्घीय सरकारले शिक्षक आपूर्तिको लागि पहल शुरू गरेको छ । अहिले नयाँ दरबन्दी वितरण भएको छैन । कतिपय ठाउँमा पालिका सरकारले दरबन्दी सिर्जना गरेको छ । पालिका सरकारले सिर्जना गर्ने दरबन्दीमा पालिकाले नै नियुक्ति दिन पाउँछ । धेरै पालिकाले शिक्षक नियुक्ति गरिसकेका पनि छन् । तर शिक्षाको मामिलामा प्रदेश सरकारले केही गरेको देखिएको छैन । यहाँ सन्दर्भ शिक्षक दरबन्दीको हो । सङ्घ र पालिका सरकारले पहल गरिरहेको सन्दर्भमा यदि प्रदेश सरकारले पनि यसमा पहल लिने हो भने शिक्षामाथि न्याय हुन्छ । हैनभने अझै पनि शिक्षक पुग्ने अवस्था छैन ।

अहिले शिक्षक–विद्यार्थी अनुपात पचास वा पचपन्न विद्यार्थीमा एक शिक्षक निर्धारित गरिएको छ । यसमा समयानुकूल संशोधन आवश्यक छ । संस्थागत विद्यालयहरूमा एक शिक्षक बराबर बढीमा पच्चीस वा तीस विद्यार्थी हुन्छन् । यसले गर्दा त्यहाँ हरेक विद्यार्थीबारे शिक्षकलाई जानकारी हुन्छ, कमी कमजोरी थाहा भएपछि उपचार गर्न पनि सजिलो हुन्छ । सामुदायिक विद्यालयका तीन तहको सरकारले यदि शिक्षक विद्यार्थी अनुपातलाई वर्तमान अवस्थाभन्दा अझ कम गर्ने हो भने शिक्षामाथि अलिकति न्याय हुने अवस्था हुन्थ्यो । यद्यपि अहिले जुन रूपमा शिक्षकको विज्ञापन भएको छ, यो पनि शिक्षामाथि न्यायको एउटा पाटो हो । अन्य पाटाहरूमा त समाज र राज्यले धेरै कुरा गर्न बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here