नेपाली किसानका लागि उखुखेती नगदेबालीबाट अनिश्चित खेतीमा परिणत भएको छ । छिमेकी मुलुक भारतमा उखुबालीलाई मुख्य नगदेबालीको रूपमा लिने गरिएको छ । हाम्रो मुलुकमा पनि केही वर्ष पहिलेसम्म यसलाई मुख्य आकर्षक नगदेबालीको रूपमा लिइन्थ्यो । तराई–मधेस क्षेत्रका किसानको लागि भरपर्दाे उखुखेतीले सरकारी उदासीनताका कारण अनिश्चित बालीको उपमा पाउन थालेको हो । उखुखेती लगाउने बेलामा आवश्यक मल, उन्नत बीउ एवं सहुलियत ऋणको व्यवस्था छैन । जेनतेन किसानले हुर्काएको उखु काट्ने समय बितुन्जेलसम्म पनि मूल्य निर्धारण अनिश्चित छ । यस वर्ष उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारले अझै आनाकानी गरिरहेको छ । सरकार किसानमैत्रीभन्दा पनि उद्योगमैत्री निर्णयको लागि अनुकूल वातावरणको पर्खाइमा रहन्छ । सर्लाही जिल्लाका किसानहरूले मूल्य निर्धारणविना नै उखु काट्न थालेका छन् । उखुबाली काटेर हिउँदे बाली लगाउनुपर्नेमा समय बित्दै जाँदासम्म सरकारले मूल्य निर्धारण नगरेपछि किसानले उखु काट्न थालेका हुन् ।

मूल्य निर्धारणविना नै उखु काट्नु नैतिकवान् सरकारको लागि ठूलो झटका हो । सरकारको कारण किसान उखुखेती मास्दैछ । यसमा किसानको असन्तुष्टि, विरोध र विद्रोह झल्कन्छ । मूल्य निर्धारणविना उखु काट्नुले किसान दिक्क भइसकेका छन् भन्ने पुष्टि हुन्छ । उखु काटेर खुटी रहन दिने हो भने काट्न एक महीना विलम्ब भएपनि त्यति फरक पर्दैन । यहाँ त उखु काटेर सोही खेतमा अरू नै हिउँदे बाली लगाउनु छ । कुनै पनि बालीको बेला हुन्छ । बेला घटकिएपछि त्यो अबेर हुन्छ र अबेर लगाएको बालीले फल दिंदैन । सर्लाहीका किसानले उखु काटेर बेलैमा हिउँदे बाली लगाउने निधो गरे । उखुबालीको अनिश्चितताले वितृष्णा जागेको कारण उनीहरूले उक्त कदम चालेका हुन् । उखुबाली विस्थापित गरी अरू नै बाली लगाउन उनीहरू तयार छन् । उखुखेतीबारे सरकार कहिल्यै गम्भीर देखिएन । सरकारबाट मूल्य निर्धारण भएपछि पनि किसानले चिनीमिलको चलानी पाउने निश्चित छैन । बल्लतल्ल चलानी पाएर मिलमा उखु बुझाएपछि भुक्तानी पाउन झन् अनिश्चित छ । उखु मिलमा बुझाएको ४/५ वर्षसम्म पनि किसानले भुक्तानी नपाउने रहेछ भन्ने कुरा उखु किसानको राजधानी केन्द्रित आन्दोलनबाट खुलासा भएको हो । परिश्रम र पूँजी लगाएर सधैं अनिश्चितताको खेती कति गरिरहने ? किसानमा निराशा छाउनु स्वाभाविक हो ।

उखु नरोपे कृषकले अर्कै बाली लगाउँलान् तर नेपाली उपभोक्ताले चिनीको बदला अरू नै वस्तुको उपयोग गर्दैन । उखु रोप्ने क्रम ओरालो झरेपछि मुलुकमा चिनी उत्पादन ठप्प हुन्छ । नेपाली चिनीको बजार विदेशी चिनीले ढाकेमा मुलुकको व्यापार घाटा उकालो चढ्छ । उखुबाली ¥हास हुने बित्तिकेै स्वदेशी चिनी उद्योग धराशयी हुन्छन् । हाम्रा उद्योगीहरूले गरेको लगानी खेर जानेछ भने चिनी उद्योग र उखुबालीमा रोजगार गरिरहेका जनशक्ति बेरोजगार बन्नेछ । यसले मुलुकको अर्थतन्त्रमा ठूलो क्षति पु¥याउँछ । सरकार तथा नीति निर्माणको तहमा बस्नेहरूमा चेत आओस्। मुलुकमा उखुखेती र यसका अप्ठ्याराहरूको बारेमा अध्ययन तथा अनुसन्धान गरी बाधा अडचन फुकाउने किसिमको नीति निर्माण गरिनुपर्छ । उखुको मूल्य निर्धारण र भुक्तानीको लागि वैज्ञानिक मापदण्ड तयार गरी यसबारेमा हुने सम्पूर्ण अनिश्चिततालाई हटाउने र किसानलाई पुनः उखुखेतीतर्फ फर्काउने पहल गरिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here