प्रस, जनकपुरधाम, १३ पुस/
प्रदेश नं २ अन्तर्गत दुईवटा जिल्ला सिराहा र सर्लाहीमा स्थानीय प्रशासनले छुट्टाछुट्टै निषेधाज्ञा जारी गरेको छ । सिराहा प्रशासनले पूर्व–पश्चिम राजमार्ग र सिराहा चोहर्वा सडकखण्डमा दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
सिके राउत नेतृत्वको जनमत पार्टीले आम हडतालपछि चक्काजाम घोषणा गरेकोले सो असफल पार्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबू कवारीले सूचना जारी गरेर निषेधाज्ञाबारे जानकारी दिएका हुन् ।
पुस १३ र १४ गते बिहान ५ देखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख छ । जिल्लाको पूर्वमा बलान खोलादेखि पश्चिम कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिराहा सडकखण्डको पिकेपराज इन्टरप्राइजेज पेट्रोल पम्पसम्म ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको छ । सो अवधिभर राष्ट्रिय लोकमार्ग र सिराहा चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन गर्न पाइने तर बाहिर हिंड्डुुल गर्न, भेला हुन, राजनीतिक सभा र गतिविधि गर्न नपाउने जारी सूचनामा उल्लेख छ ।
किसानमाथि दमन भएको, आन्दोलनकारीसँग अभद्र व्यवहार भएको भन्दै जनमत पार्टीले आन्दोलन थप गरेकोले निषेधाज्ञा जारी गर्नुपरेको स्थानीय सुरक्षा अधिकारीहरूको भनाइ छ । प्रशासनले समस्या समाधानमा चासो नदेखाएको भन्दै जनमत पार्टीले पनि बुधवार र बिहीवार जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको छ ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय, सिराहाका प्रजिअ कवारीले अबेर साँझ सूचना निकाली निर्धारित स्थानमा भोलि पुस १४ गते लगाउने भनिएको निषेधाज्ञाको आदेश हटाइएको जानकारी गराएका छन् ।
सर्लाहीको ईश्वरपुर क्षेत्रमा निषेधाज्ञा जारी
प्रस, सर्लाही/
प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्यु भएको विषयलाई लिएर तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जिल्लाको ईश्वरपुर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले मङ्गलवार दिउँसो ३ देखि बुधवार राति ७ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा घरबाहिर हिंड्डुल गर्न रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय केशरजंगबाट पूर्व ईश्वरपुर नगरपालिकाको वडा नं ४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुरको वडा नं ८ रामपुर टोलसम्म, इलाका प्रहरी कार्यालय, केशरजंगबाट उत्तर ईश्वरपुर नगरपालिकाको वडा नं ५ सखुवानी टोलसम्म तथा दक्षिणमा वडा नं ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जनाएको छ।
आइतवार राति प्रहरीको गाडीले ठक्कर दिंदा स्थानीय व्यवसायी रामकुमार महतोको मृत्यु भएपछि स्थानीय बासिन्दा सोमवारदेखि प्रहरीविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । यस क्रममा सोमवार प्रदर्शनकारीहरूले प्रहरीको एउटा गाडीसमेत जलाइदिएका थिए ।
इलाका प्रहरी कार्यालय, केशरगंजको गस्तीमा हिंडेको गाडीले आइतवार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका वडा नं ७ मा ठक्कर दिंदा ना.४३प ५०१८ नम्बरको मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका–५ का महतोको मृत्यु भएको थियो ।
प्रहरीले भने महतोले चलाइरहेको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा आफैं प्रहरीको गाडीमा ठोक्किएको जिकिर गरेको छ ।