• विनोद गुप्ता

पूर्वप्रधानमन्त्री एवं वर्तमान एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालभित्रकै तर उनले विदेशी ठान्ने ‘धोती’हरूको प्रदेश नं २ को पर्सा जिल्लाको जगरनाथपुरमा ऐतिहासिक आमसभा गरेका छन् । आश्चर्य केमा लाग्यो भने २०६२/६३ को आन्दोलनपछि पूर्व–पश्चिम राजमार्गलाई अघोषित सिमाना मानेर काम गर्दै आएको सरकारी, गैरसरकारी एवं एमालेतन्त्रलाई अब तराई–मधेसको सम्झना हुन थालेको छ ।

होस् पनि किन नाइँ ? हामी नै यति निर्लज्ज छौं कि ५४ जनाको हत्याको अपराध बोकेका ओली र वीरगंजलाई प्रादेशिक राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका मधेसी नेतालाई स्वागत गर्न पछि पर्दैनौं र उनीहरूको दललाई पद पाउने आशामा जीवन्त बनाएर राखेका छौं । सम्झनुस् त २०६२/६३ को आन्दोलनपछि पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिण नेकपा त के, गीत र नृत्यको अडिशनसमेत हुन छाडेको थियो र त्यसमा त झन् वीरगंजले यति प्रसिद्धि पाएको थियो कि सबै कार्यक्रम पथलैयापछि उत्तर लाग्थे ।

तीन तहको निर्वाचनपछि स्थिति भने केही फेरिएको छ, तर दोहन गर्ने प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । वीरगंज उद्योग वाणिज्य सङ्घका पुराना र नयाँ नेतृत्वले समेत घोषणा गरेका आर्थिक राजधानीको पगरी वीरगंजबाट अब बिस्तारै चोभार सुक्खा बन्दगरगाह सञ्चालनमा आएपछि भैरहवा वा काठमाडौं कतातिर स्थानान्तरित हुने हो हेर्न बाँकी छ ।

पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा छिटै चुनाव चाहेको बताएको बिल्कुल सत्य हो । यसको सत्यता दुईपटकको संसद् विघटन र अहिलेको संसद् अवरोधबाट नै स्पष्ट हुन्छ । उनको नेतृत्वको एमाले आफूले सत्ता नपाएसम्म देशमा शान्ति, सुव्यवस्था स्थापित होस् भन्ने चाहँदैन । न्यायालयमा विचाराधीन मुद्दाको प्रसङ्गको अत्तो थापेर एकातिर संसद् अवरोध गरेर देशको विकासमा बाधक बनेको छ भने अर्कोतिर न्यायपालिकाको विवादमा संसद् पुनस्र्थापना गर्ने संविधानपीठका सबै सदस्यले राजीनामा दिनुपर्ने कुतर्क गरेर अस्थिरतालाई थप बल पु¥याएको छ ।

सम्माननीय प्रधानन्यायाधीशको राजीनामा माग्ने, बारले चलाएको आन्दोलनको संसद् पुनस्र्थापनाको निर्णयसँग कुनै सरोकार रहेको देखिंदैन । त्यस्तै एमसिसीबारे समेत आफू सत्तामा रहँदा संसद्मा टेबुल नगरेकोमा आफ्नै पार्टीका कृष्णबहादुर महरालाई हटाउन रचिएको षड्यन्त्र बिर्सेर अहिले मौन बस्नु कुन राजनीतिक नैतिकता हो भन्ने प्रश्न उठ्छ । नेका पहिले पनि एमसिसीको पक्षमा थियो र आज पनि छ । तर त्यस बेलाको नेकपा र अहिलेको एमालेको गतिविधि छेपारोले रङ्ग परिवर्तन गरेसरह नै हो ।

आफ्नो सम्बोधनको क्रममा गठबन्धनको सरकार भ्रष्टाचारमा लिप्त रहेकोले गरीबी बढेको र विकास हुन नसकेको भनिरहँदा कोरोनाकालमा उनको सरकार र उनी स्वयंले आफूले बुझ्न नसकेको भनेर स्वीकार गरेको कोरोनाकाल र त्यसको व्यवस्थापकीय दुरवस्थालाई बिर्सनु बौद्धिक चमत्कार नै हो । कमसेकम गठबन्धनको सरकार आएपछि नेपाली जनताले खोप पाएको छ र यसमा ओलीकालजस्तो ओम्नी र चीनबाट खरीद हुँदा वा अन्य कुनै प्रकारको भ्रष्टाचार भएको खबर आएको छैन ।

नेपाल–भारत सम्बन्धको चर्चा गर्दै उनले भारतबाट नेपाली भूमि फिर्ता ल्याउने निर्णय गरेको भन्न भ्याउँदासम्म उक्त निर्णय एमाले वा नेकपाको नभई सम्पूर्ण राजनीतिक दलको भएको र पछि राष्ट्रिय महŒवको यो मुद्दालाई भारतीय प्रधानमन्त्रीलाई शुभकामना कार्ड पठाउँदा चुच्चे नक्शा हटाएर पठाएकोबाट नै उनको नियत प्रस्ट हुन आउँछ । उनी ठूला देशभक्त हुन् भने अहिले भारतले प्रकाशित गरेको नयाँ नक्शामा कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नोतर्फ पार्न काली नदीको नाम नै फेरेर ‘कुति याङ्ती’ राखी प्रकाशित गरेकोमा एक शब्दसमेत नबोल्नु पछाडिको रहस्य के हो ? सरकारले केही पनि नबोलेको अवस्थामा प्रमुख प्रतिपक्षले संसद् अवरोध गर्नुको सट्टा संसद्का साथै सडकमा समेत विरोध प्रदर्शन गरी समग्र राष्ट्रको ध्यान यस मुद्दामा केन्द्रित गर्नुपर्ने होइन र ? तर यस्तो नगर्नु पछाडिको रहस्य के हो ? त्यस्तै बाँध खोल्न लगाएर पानी निकास गराएको प्रसङ्गमा देशभर त कति छन् कति, प्रदेश नं २ का आठ जिल्लामा मात्रै भारतले १२ वटा बाँध बनाएको छ ।

सुक्खायाममा सबै ढोका खोली निर्बाधरूपमा पानी प्रयोग गर्दछ र वर्षायाममा ढोका बन्द गरी आंशिकरूपमा मात्रै खोली नेपालको तराईको खेतीयोग्य जमीन डुबानमा पार्छ । यो निर्माण र व्यवस्थापन कुन सम्झौता अन्तर्गत भएको हो ? अन्तर्राष्ट्रिय प्रोटोकोल अनुसार सीमावर्ती क्ष्Fेत्रमा कुनै काम गर्दा दुवै पक्ष्Fको सहमति हुनुपर्दछ । के नेपालले यस्तो सहमति दिएको छ ? यसबारे भने केही बोलेनन् । यस अवस्थामा पूर्वप्रधानमन्त्रीले कृषिमा आधुनिकीकरण गर्नुको कुनै अर्थ रहँदैन किनभने नेपालको अन्नभण्डार तराई हो र बर्सेनि बाढी र डुबानले यसको उत्पादकत्व घट्दै गएको हामी सबैले देखेबुझेकै कुरा हो ।

रेलवे कनेक्टिभिटी बढेकै हो तर पानीजहाज र घरघरमा ग्याँस पाइपलाइन पु¥याउने कुरा बकम्फुसे साबित भएकोमा दुईमत छैन । अन्तरिक्षमा स्पेस किनिसकेको प्रसङ्गमा नेपालले प्रक्षेपण गरेको सेटेलाइट कहाँ छ र के सूचना प्रवाह गरिरहेको छ त्यसको कुनै जानकारी नेपाली जनतालाई छैन । त्यसैगरी जनताले कर तिरेको पैसाबाट खरीद गरेको ‘स्पेस’को के प्रयोग भइरहेको छ र त्यहाँ नेपालको कुन सेटेलाइट कहिले जाने र कार्य गर्ने कुरा, एमालेको महाधिवेशनमा कहिले के हुने भन्ने कुरा उनको गर्भमा रहेजस्तै गोप्य भएकोले हाम्रो खासै सरोकारको विषय भएन । कमरेड प्रचण्डको विरोध पनि स्वाभाविकरूपमा लिन सकिन्छ ।

सारांशमा उनको सम्पूर्ण मन्तव्य पढ्दा उनी प्रधानमन्त्री रहेको बेला जसरी नेपाली जनताको बेसार र अम्बाको पातबाट कोरोना उपचार गरे, त्यसैगरी आफ्नो बोलीबाट नेपाली जनताको अनन्तकालसम्म सेवा गरी कालजयी हुने दृढ इच्छाशक्ति भएको एक आत्मकेन्द्रित नेताको रूपमा रहेको पाइन्छ । उनले सत्ताको उन्मादमा मधेस र मधेसीलाई जे भनेको भएपनि मधेसले उनको स्वागत गरेर अतिथि देवो भवः को आफ्नो महान् संस्कृतिसँग उनको साक्षात्कार गराएको छ । यसबाट भएपनि बोली र वचनबारे उनलाई ज्ञान मिलोस् भन्ने आशा गरेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here