प्रस, जनकपुरधाम, १३ पुस/
प्रदेश नं २ को नाम र राजधानीका विषयमा सहमति खोज्न प्रदेशसभाले मङ्गलवार विशेष समिति गठन गरेको छ । सभामुख सरोज यादव संयोजक र उपसभामुख उपमा देव सहसंयोजक रहने गरी संसदीय अध्ययन विशेष समिति गठन गरिएको हो ।
गठित समितिका सदस्यमा उपेन्द्र कुशवाहा, विन्देश्वर यादव, शत्रुघ्न महतो, किशोरी साह, जगत यादव, दीलिप साह, परमेश्वर साह, शारदा थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जय यादव, सावित्रीदेवी साह, सुन्दर विक र सुरिता साह छन् ।
उक्त समितिले प्रदेशको नाम र स्थायी राजधानीबारे दर्ता भएको प्रस्तावमाथि अध्ययन गरी छलफल र अन्तक्र्रिया गर्ने कार्याधिकार पाएको सभामुख यादवले बताएका छन् । प्रदेश नं २ प्रदेशसभामा नामसम्बन्धी चारवटा प्रस्ताव र राजधानीबारे दुईवटा प्रस्ताव दर्ता छन् ।
समितिले कार्याधिकार पाएको १५ दिनभित्र प्रदेशसभाको नाम र राजधानीबारे प्रतिवेदन बुझाउनेछ । राजनीतिक सहमतिको आधारमा प्रदेशको नाम र राजधानी तय गर्न सबै सरोकारवालासँग छलफल गरेर मात्रै प्रतिवेदन तयार हुने समितिका सदस्यहरूले बाताएका छन्।
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश नं २ को नाम मधेस प्रस्ताव गरेका छन् । सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीले भने जानकी प्रदेश नाम प्रस्ताव गरेको छ ।
सत्ता गठबन्धनकै नेपाली काङ्ग्रेसले मिथिला–भोजपुरा प्रदेश नाम प्रस्ताव गरेको छ । त्यस्तै, काङ्ग्रेसका केही सांसदले मध्यमधेस नाम राख्नुपर्ने छुट्टै प्रस्ताव दर्ता गराएका छन् ।