प्रस, सिराहा, ११ पुस/

जनमत पार्टीले सिराहामा आह्वान गरेको एक दिने आम हडतालको कारण आइतवार जिल्लाको जनजीवन प्रभावित रह्यो । बिहानपख केही सवारीसाधन चले पनि प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि सम्पूर्ण सवारीसाधन ठप्प भएको थियो ।

बिहान १० बजेपछि जिल्लाबाट लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन् । यसअघि आम हडताल उल्लङ्घन गरेको भन्दै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिराहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरूले दर्जनौं गाडी तोडफोड गरे । सो क्रममा प्रहरीले राजमार्ग सुचारु गराउन प्रयास गरेपछि मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले प्रयास गर्दा पनि राजमार्ग खुलाउन नसकेपछि राजमार्ग प्रदर्शनकारीहरूको कब्जामा रह्यो । गाउँपालिकाले दिएको झूटो मुद्दाको आधारमा किसानविरुद्ध मुद्दा दर्ता गरेर पक्राउ गरेको हुँदा सोको विरुद्ध आम हडताल घोषणा गरिएको जनमत पार्टी, सिराहाले जनाएको छ ।

जिल्लाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न भनी ल्याएको गहुँको बीउ गोदाममा राखेको थियो । गहुँको बीउ छर्ने समय विलम्ब भइसकेर ल्याएको बीउ पनि वितरण नगरी राखेपछि गहुँ कृषकहरूले गहुँको बीउ गोदामबाट निकालेर आआफ्नो खेतमा लगेका थिए ।

गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले समयमा बीउ वितरण गर्न नसकेकोले बाध्य भएर गहुँको बीउ उठाएर लगेको किसानहरूको भनाइ छ । सो सम्बन्धमा गाउँपालिकाका अध्यक्ष यादवले भने किसानलाई वितरण गर्ने भनिएकोमा केही व्यक्तिले हुलहुज्जत गर्न थालेपछि सुरक्षाकर्मीको पर्खाइमा बसेको बेला सोही समूहले बीउ लुटेर लगेको र यसरी बीउ लुट्दा वास्तविक किसान बीउबाट वञ्चित भएको बताए । मुद्दा दर्ता भएकाहरूमाथि कारबाई हुनुपर्ने उनको अडान छ ।

यता आन्दोलनका पक्षधरहरू राजनीतिक प्रतिशोधका आधारमा पालिकाले प्रहरीमा मुद्दा दायर गरेको आरोप लगाएका छन् । चारजनामाथि मुद्दा दर्ता भएको र सोमध्ये एकजना गत बिहीवार नै पक्राउ परेको प्रहरीले जनाएको छ ।

जनमतको प्रदर्शनमा जिल्लाका किसानहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । आम हडतालको दिन आइतवार बिहानैदेखि आन्दोलनकारीहरू सडकमा नाराबाजी गर्दै सार्वजनिक चोकहरूमा टायर बालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here