प्रस, वीरगंज, ११ पुस/

अखिल नेपाल पिछडावर्ग महासङ्घले जिल्ला प्रशासन कार्यालय, पर्साअगाडि मलको माग गर्दै एक घण्टा धर्ना दिएको छ ।

महासङ्घका उपाध्यक्ष अखिलेश साहले मङ्सिर २० गते किसानहरूलाई आवश्यक मल आपूर्तिको लागि पर्साका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएकोमा अहिलेसम्म किसानहरूले सहजरूपमा मल नपाएको र सोही कारणबाट गहुँ, मकैलगायतका बालीको उत्पादन कम हुने सम्भावना बढेको भन्दै मलको सहज आपूर्तिको लागि एक घण्टा धर्ना दिएको बताए ।

उनले बर्सेनि मलको समस्या भोग्दै आएका किसानहरूलाई सरकारले आवश्यकता परेको बेलामा मल उपलब्ध गराउन नसकेको भन्दै मल उपलब्ध गराउन दबावस्वरूप बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएको बताए ।

अखिल नेपाल पिछडावर्ग महासङ्घ, पर्सामा आबद्ध युवाहरूले ‘मलखादको व्यवस्था गर’, ‘किसानको माग पूरा गर’, ‘स्थानीय सरकार मुर्दाबाद’, ‘प्रदेश सरकार मुर्दाबाद’, ‘किसान मार्न पाइँदैन’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

धर्ना कार्यक्रम महासङ्घ, पर्साका अध्यक्ष प्रमोद महतोको अध्यक्षतामा भएको थियो भने केन्द्रीय सदस्य राजेश सहनी, राजन साह कानू, सचिव सन्दीप महतो, सन्तोष पटेल, राजेश पटेल, महादेव शर्मा, अरुण कुशवाहालगायतको सहभागिता रहेको जिल्ला सचिव भगवानलाल पटेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here