प्रस, परवानीपुर, ११ पुस/
नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ, पर्साले आयोजना गरेको प्रथम एनएमएसआरए एफ–१५ नकआउट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलमा एनएमएसआरए रेड विजयी भएको छ ।
क्वेस्ट फर्मास्युटिकल्सलाई ९ विकेटअन्तरले पराजित गर्दै एनएमएसआरए रेड विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको क्वेस्टले १३ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा रेडले ७.३ ओभरमा एक विकेट गुमाउँदै ८८ रन बनाएर विजयी भएको हो ।
त्यसैगरी, फाइनल खेलमा ‘प्लेयर अफ दी म्याच’को उपाधि एनएमएसआरए रेडका बलर सचिन कुमार घोषित भए । उनले तीन ओभरमा १५ रन खर्चिंदै तीन विकेट लिएका थिए । त्यस्तै, ‘प्लेअर अफ दी सिरिज’को उपाधि एनएमएसआरए रेडकै राजेन्द्र बस्नेतले प्राप्त गरे ।
विजेता टोली एनएमएसआरए रेडलाई प्रमुख अतिथि क्वेस्ट फर्मास्युटिकल्सका बजार निर्देशक तथा एनएनएसआरएका संस्थापक सचिव शैलेन्द्रप्रसाद वर्माले २५ हजार रुपैयाँ नगद, ट्रफी, प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
उपविजेता क्वेस्टलाई १५ हजार रुपैयाँ नगद प्रदान गरिएको आयोजक संस्थाका सचिव राम गोसाईंले बताए । तीन दिवसीय प्रतियोगितामा म्याग्नस फर्मा, भास्कर, एनपिएललगायत आठवटा टीम सहभागी रहेको एनएमएसआरए वीरगंजका अध्यक्ष मनोज साहले बताए ।