साओ पाओलो/सिन्ह्वा
ब्रजीलमा शुक्रवारदेखि शनिवारसम्मको २४ घण्टामा मात्र कोरोना भाइरसबाट सङ्क्रमित १६४ जनाको ज्यान गएको छ । ब्रजीलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोना सङ्क्रमणका साथै मृत्यु हुनेको सङ्ख्या पनि बढेको पाइएको छ । साथै गएको २४ घण्टामा यहाँ चार हजार १४६ जनामा सङ्क्रमण भएको छ । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ ।
यहाँ यो भाइरसको सङ्क्रमण शुरू भएयता छ लाख १८ हजार ३९२ जनाको यही प्रकोपबाट निधन भएको बताइएको छ । त्यसैगरी, यहाँ दुई करोड २२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको सङ्ख्या बढेको छ तर सङ्क्रमण पनि बढेको पाइएको छ ।
यहाँका ६८ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएका छन् । ब्रजील विश्वमैं कोरोनाका कारण सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा अमेरिकापछि दोस्रोमा पर्दछ । कोरोनाबाट सबैभन्दा बढी अमेरिकी नागरिकको ज्यान गएको छ । रासस