प्रस, वीरगंज, १० पुस/
सखुवाप्रसौनी गाउँपालिका वडा नं ५, महुवनमा दलित समुदायका युवाहरूले सञ्चालन गरेको पिसफोर दलित फाउन्डेशन नेपाल प्रदेश २ पर्सा, राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । नेपाल सरकारका पूर्वसचिव डा मानबहादुर विकले आमा र बुबाको स्मरणमा १७ वर्षअघि स्थापना गरेको भीममाया स्मृति पुरस्कारबाट पिसफोर दलित फाउन्डेशन नेपाल प्रदेश २, पर्सालाई सम्मानित गरेको हो ।
पिसफोर दलित फाउन्डेशन नेपाल प्रदेश २, पर्साका अध्यक्ष तथा दलित सामाजिक अभियन्ता मनोज रामलाई रु ५० हजार राशिको पुरस्कार शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका प्रमुख तिलक परियारले प्रदान गरेका थिए । रामको नेतृत्वमा पिसफोर दलित फाउन्डेशन नेपाल, प्रदेश २, पर्साले मधेसका दलित बालबालिकाको लागि शिक्षामा महŒवपूर्ण योगदान पु¥याउँदै आएकोले यो वर्षको भीममाया स्मृति पुरस्कार प्रोत्साहनस्वरूप प्रदान गरिएको हो ।
विगतका वर्षदेखि पिसफोर दलित फाउन्डेशन नेपालले प्रदेश २ का मधेसी, दलित, बालबालिकाको शिक्षामा पहुँच, विद्यालय टिकाउ, गुणस्तरीय शिक्षा, दलित बालबालिकाको लागि निश्शुल्क ट्युसन कक्षा सञ्चालन गर्दै आएको छ । दलित समुदायको शिक्षामा पहुँच, दलित समुदाय सशक्तीकरण, दलित समुदायको लागि समानता तथा दलितको सामाजिक न्याय, राज्यमा पहुँच, दलित महिला सशक्तीकरण तथा दलित समुदायको आर्थिक समृद्धिका क्षेत्रमा कार्य गर्दै आएको कारण पुरस्कृत गरिएको हो । कार्यक्रममा डा विकद्वारा लिखित मान्छे र माटो कविता सङ्ग्रह–२ को लोकार्पण पनि गरिएको थियो ।
नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा राजदूत पद्म सुन्दास, गोविन्द नेपाली, मोतीलाल नेपालीलगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका महासचिव सरोजदिलु विश्वकर्माले गरेका थिए ।