प्रस, जनकपुरधाम, १० पुस/

नेपाली काङ्ग्रेसको प्रदेश समितिका सबै पदाधिकारीमा देउवा प्यानल विजयी भएका छन् । जनकपुरमा जारी नेपाली काङ्ग्रेस प्रदेश २ को प्रथम अधिवेशन अन्तर्गत भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशमा विमलेन्द्र निधि–शेखर कोइराला प्यानल एक भएका थिए । दुई समूहका साझा उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको जीत भएको हो । आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीवार निर्वाचन भएको थियो ।

मतपरिणाम अनुसार निधि–कोइराला पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मतअन्तरले हराउँदै देउवा पक्षका कृष्णप्रसाद यादव विजयी भए । त्यसपछि अन्य पदाधिकारीको मतगणना गरिएको हो । बिहीवार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको नतीजा अनुसार उपसभापतिदेखि सहमहामन्त्रीसम्म सबै पदाधिकारीमा देउवा पक्षकै उम्मेदवार विजयी भएका छन् ।

प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । त्यसैगरी, महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पतिकृष्ण श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जयनारायणप्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन् । यसैगरी, सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादव विजयी भएकी छन्।

विजयी भएकाहरूमध्ये सभापतिमा कृष्ण यादवले ९९६ मत प्राप्त गरे भने रामसरोज यादवले ८५५ मत ल्याएर पराजित भए । उपसभापतिद्वयमा वीरेन्द्रप्रसाद सिंह १०१९ मत र चन्द्रशेखर यादव ८९५ मतका साथ विजयी भए ।

महामन्त्रीका उम्मेदवार उपेन्द्रकुमार यादव ९५९ मत र वृहस्पतिकृष्ण श्रेष्ठ ७८८ मत प्राप्त गरी विजयी भए । त्यसैगरी, सहमहामन्त्रीमा जयनारायण प्रसाद यादव ८७९ मत र परशुराम चौधरीले ८२२ मत प्राप्त गरी विजयी भए । सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादव ८८९ मतले विजयी भइन् । प्रदेश सदस्यहरूमा पनि देउवा पक्षीय उम्मेदवारहरूकै अग्रता रहेको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी काङ्ग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए । सोमध्ये विभिन्न क्लस्टरका पाँचजना सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि बिहीवार मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here