प्रस, सिराहा, १० पुुस/
डा सिके राउत नेतृत्वको जनमत पार्टीले आइतवारदेखि सिराहामा आम हडतालको घोषणा गरेको छ । जिल्लाको औरही गाउँपालिकाबाट गहुँको बीउ लुटेको आरोपमा प्रहरीले एक किसानलाई पक्राउ गरेपछि सोको विरोधमा जनमत पार्टीले आम हडताल घोषणा गरेको हो ।
जनमत पार्टीका नेता पवन यादवको नेतृत्वमा सङ्घर्ष समिति बनाएर गाउँपालिका र प्रहरी, प्रशासनविरुद्ध आइतवार एक दिन जिल्लामा आम हडतालको घोषणा गरेको हो ।
प्रहरीले औरही गाउँपालिका वडा नं ३ कडहरबाका किसान मिथिलेश यादवलाई बिहीवार पक्राउ गरेको थियो । गाउँपालिकाको कृषि शाखाले गहुँको बीउ र स्वास्थ्य सामग्री लुटपाट गरेको आरोप लगाउँदै चारजना किसानविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएको छ । मुद्दा दर्ता भएकामध्ये प्रहरीले एकजना किसानलाई पक्राउ गरेको र अन्यको खोजी गर्न थालेपछि जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।
घटनाको चार दिन पहिले गाउँपालिकाले किसानलाई वितरण गर्न साढे तीन सय बोरा गहुँको बीउ स्वास्थ्य चौकीको गोदाममा थन्काएर राखेको थियो । बीउ छर्ने समय बित्न लागेर पालिकाले गहुँ ल्याएकोमा पनि वितरणमा विलम्ब गरेको भनी आलोचना भएपछि पालिकाले किसानलाई बोलाएको थियो ।
स्वास्थ्य कार्यालय परिसरमा बिहानै किसानहरू भेला भएकामा मध्याह्नसम्म बीउ वितरण नगरिएपछि किसानहरूले गहुँको बीउ लुटेर लगेका थिए । किसानहरूले अति आवश्यक परेकोले आवश्यकता पूर्तिका लागि बीउ लगेको जनमत पार्टी आन्दोलन समितिका संयोजक पवनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
किसानलाई विनाशर्त रिहा गर्नुपर्ने, दर्ता गरिएका मुद्दा फिर्ता लिनुपर्ने, पालिकाले सार्वजनिक माफी माग्नुपर्ने, किसानलाई मल, बीउ, सिंचाइ र कीटनाशक औषधिको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग अगाडि सार्दै जनमत पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार शनिवार जिल्लाका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरिएको छ । आइतवारको आम हडतालमा दमन भए वा माग पूरा नभए सोमवारदेखि अझ सशक्त आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।