प्रस, वीरगंज, ९ पुस/

मानवसेवा आश्रम, वीरगंजले एक दिने सकारात्मक सोच कार्यक्रम आयोजना गरेको छ ।
वीरगंज नगरसभागृहमा आयोजित कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी, पर्सा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले गरेका थिए । आश्रमकी दुईजना महिला आश्रितबाट जन्मिएका दुईजना बालक उज्ज्वल र ओजस्वीको जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक एवं उत्प्रेरक रामजी अधिकारीले प्रवचन दिएका थिए ।

उनले विभिन्न उदाहरण र प्रसङ्गमार्फत मानवजीवन खुशी, शान्ति र समृद्ध हुनुपर्नेमा जोड दिंदै कथाहरू सुनाएका थिए । नेपालमा २०६९ सालमा मानवसेवा आश्रम स्थापना भए तापनि सडकपेटीका असहायलाई सेवा दिन वीरगंजमा २०७४ जेठ १५ गते नारायणी अस्पतालबाट एकजना व्यक्तिलाई उद्धार गरी मानवसेवा आश्रम, वीरगंजको यात्रा शुरू भएको थियो । वीरगंजस्थित मानवसेवा आश्रममा ५८ जना आश्रित छन् ।

आजसम्म आश्रमले १४४ जनालाई सेवा प्रदान गरेकामा ४१ जनालाई पारिवारिक मिलन गराइएको, ३५ जना उपचारपछि स्वेच्छाले गएका, १५ जनाको संरक्षित अवस्थामा निधन भएको लगायतका जानकारी दिइएको थियो ।

चाँडै वीरगंज महानगरपालिका र अन्य संस्थाको सहयोगमा वीरगंजको लक्ष्मणवामा १८ कट्ठा सार्वजनिक जग्गामा मानवसेवा आश्रमको भवन निर्माण गरिने उनले जानकारी गराए । यस्तै, मानवसेवा आश्रमका भवनहरू देशका विभिन्न ठाउँमा निर्माण हुने योजना रहेको जानकारी गराउँदै २०८२ सालभित्र नेपाललाई बेसहारा, असहाय, अनाथ मानवरहित राष्ट्र घोषणा मानवसेवा आश्रमको लक्ष्य रहेको बताए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, पूर्वअध्यक्ष गोपाल केडिया, प्राध्यापक दीपक शाक्यलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रदेश संयोजक दिवेश गुप्ताले गरेका थिए भने कार्यक्रममा साउथ जोनका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here